काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी विपद्सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका संकटलाई संयुक्त राष्ट्रसंघको महासभामा प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् ।
सोमबार सिंहदरबार पुगेर प्रधानमन्त्री शाहलाई भेटेका कांग्रेस नेताहरूले महासभामा नेपालको तर्फबाट उठाउनुपर्ने विषयबारे आफ्ना धारणा प्रस्तुत गरेका हुन् ।
भेटपछि नेता आङ्देम्बेले विकासन्युजसँग प्रतिक्रिया दिँदै भने, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सहभागी हुँदा उहाँको साथमा सिङ्गो देश रहेको सन्देश दिन कांग्रेसले भेटेर आफ्ना सुझाव र धारणा राखेको बताए ।
उनका अनुसार भोटेकोशी विपद्पछि उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको जीवनरक्षाका विषयमा सरकारले गरिरहेका काममा कांग्रेसले आवश्यक सहयोग गर्दै आएको छ ।
कांग्रेसले भोटेकोशी विपद्पछि उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको जीवनरक्षाका विषयमा सरकारलाई हरसम्भव सहयोग गरिरहेको आङ्देम्बेले बताए ।
उनले भने, ‘पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा जलवायु परिवर्तनसम्बन्धी छलफलबाट आएका सुझाव र महासभामा नेपालले उठाउनुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेका हौँ ।’
कांग्रेस नेताहरूले भोटेकोशी विपद्लाई जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका छन् ।
महासभामा नेपालको जोखिम, विपद् व्यवस्थापन, जलवायुजन्य क्षति तथा प्रभावित नागरिकका विषयलाई प्राथमिकताका साथ उठाउन आफूहरूले प्रधानमन्त्रीलाई आग्रह गरेको आङ्देम्बेले बताए ।
आङ्देम्बेले महासभामा प्रस्थान गर्नुअघि संसद्मा रहेका सबै दलसँग छलफल गरेर समान विचार बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए ।