एमाले पुनर्गठन प्रतिवेदनमा ओलीकै ‘ब्रेक’, केन्द्रीय कमिटीअघि फेरि सचिवालय

एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले अध्यक्ष केपी शर्मा ओलीको असहमतिका कारण अन्तिम रूप पाउन सकेको छैन । केन्द्रीय कमिटी बैठक बस्नुअघि प्रतिवेदन टुंग्याउने प्रयासस्वरूप एमालेले सोमबार बिहानै सचिवालय बैठक बोलाएको छ ।

ललितपुरमा आज बस्ने केन्द्रीय कमिटी बैठकअघि अहिले बिहान सचिवालय बैठक बस्ने तय भए पनि बैठक अझै बस्न सकेको छैन। कार्यदलले आइतबार तयार पारेको माइन्युटमा अध्यक्ष ओलीले दुईवटा विषयमा आपत्ति जनाएपछि सचिवालय बैठकबाट प्रतिवेदन अनुमोदन हुन नसकेको नेताहरूले बताएका छन् ।

कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी तीनवटा छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरेर एउटै दस्तावेज बनाएको थियो । महासचिव शंकर पोखरेलले तयार पारेको मूल प्रतिवेदनलाई आधार बनाएर केही बुँदा संशोधन गरी त्यसलाई सचिवालयमा लैजाने तयारी गरिएको थियो ।

तर, कार्यदलको निष्कर्षमध्ये १३ वटा समूहबाट प्राप्त सुझावलाई कुनै संशोधन नगरी प्रतिवेदनको अनुसूचीमा समावेश गर्ने प्रस्तावमा ओलीले असहमति जनाएका छन् । सुझावलाई जस्ताको तस्तै राख्ने विषय अध्यक्षले स्वीकार नगरेपछि प्रतिवेदनको अन्तिम रूपबारे विवाद उत्पन्न भएको हो ।

त्यसैगरी राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने प्रस्तावमा समेत ओलीको आपत्ति रहेको स्रोतको भनाइ छ । कार्यदलले पार्टीको आगामी पुनर्गठन प्रक्रियासँग जोडेर प्रतिनिधि परिषद् बैठक बोलाउनुपर्ने सुझाव दिएको थियो । यही विषयलाई लिएर पनि अध्यक्ष र कार्यदलबीच मतभेद देखिएको छ ।

कार्यदलमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल र सचिव डा। राजन भट्टराईसहितका बहुमत सदस्य भने कार्यदलको निष्कर्षबाट पछि हट्न तयार नभएपछि आइतबारको बैठकले अन्तिम निष्कर्ष निकाल्न सकेन ।

कार्यदलको प्रतिवेदनमाथि अध्यक्षको असहमति देखिएपछि त्यसलाई सच्याउने वा यथावत् सचिवालयमा लैजाने भन्ने विषय नै अहिलेको मुख्य पेच बनेको छ । त्यसैलाई टुंग्याउन केन्द्रीय कमिटी बैठकअघि पुनः सचिवालय बैठक राखिएको हो ।

स्रोतका अनुसार सोमबारको सचिवालय बैठकमा पनि दुवै विषयमा सहजै सहमति जुट्ने अवस्था देखिएको छैन । प्रतिवेदनमा सहमति नजुटे निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीमा कसरी प्रस्तुत गर्ने भन्ने विषयसमेत अन्योलमा पर्नेछ ।

यसअघि कार्यदलले तीन प्रतिवेदनलाई एउटै बनाएर पार्टी नेतृत्वलाई बुझाउने तयारी गरे पनि अध्यक्षको असहमतिले अन्तिम चरणमै प्रक्रिया रोकिएको हो । आजको सचिवालय बैठकले प्रतिवेदनको विवाद टुंग्याउन सके मात्रै केन्द्रीय कमिटी बैठकमा पुनर्गठनसम्बन्धी प्रस्ताव औपचारिक रूपमा अघि बढ्नेछ ।

Share News