काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार (आज) शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले उपलब्धिलाई निमिट्यान्न पार्न खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन् । सहिदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने उनले सबैमा अनुरोध पनि गरे ।
शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरणसमेत गरे ।