जलवायु विपत्तिको मुद्दा उठाउन प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् ।

प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्रीको सविचालयले जनाएको छ ।

महासभामा उनले नेपालले पछिल्लो समय भोग्दै आएको जलवायुजन्य विपत्ति र त्यसबाट परेको मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

प्रधानमन्त्री शाह असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ । उनी केही दिनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई महासभामा पठाउने तयारी थियो । 

तर रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको पछिल्लो अवस्था अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु उपयुक्त हुने भन्दै सरकारभित्र छलफल अघि बढाइएको थियो ।

प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा उनका सचिवालयका चार सदस्य, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्रसचिव अमृतबहादुर राईसहितका अधिकारी सहभागी हुने बताइएको छ ।

महासभामा प्रधानमन्त्री शाहले नेपालजस्ता हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेका समस्या, प्राकृतिक विपत्तिबाट भइरहेको क्षति तथा जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा राख्ने तयारी गरेका छन् ।

Share News