काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धान प्रक्रियामाथि थप प्रश्न उठाएको दाबी गरेको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा आयोगका अध्यक्ष कार्कीको एक टेलिभिजन अन्तर्वार्तामा आएको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका हुन् ।
आचार्यका अनुसार अध्यक्ष कार्कीले आन्दोलनको अघिल्लो दिन अर्थात् भदौ २३ गते बिहानै ‘हामी नेपाल’का तत्कालीन प्रमुख तथा हालका गृहमन्त्री सुधन गुरुङ माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताएका थिए ।
आन्दोलनका लागि गरिएको उक्त पूर्वतयारीले आन्दोलनबाट हुन सक्ने सम्भावित परिणामबारे गुरुङलाई पहिल्यै जानकारी थियो कि भन्ने प्रश्न उठेको आचार्यको भनाइ छ ।
आयोगले अनुसन्धानका क्रममा सीसीटीभी फुटेज र मोबाइल लोकेसनसमेत अध्ययन गरेको अध्यक्ष कार्कीले बताएको पनि उनले उल्लेख गरेका छन् ।
त्यसैगरी, आचार्यले भदौ २४ गते भएका आगजनी, लुटपाट तथा तोडफोडका घटनामा संलग्न व्यक्तिमाथि कारबाही नगर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिएको अध्यक्ष कार्कीले बताएको दाबी गरेका छन् ।
जेन–जीसँग भएको सहमतिका आधारमा विध्वंसात्मक घटनामा संलग्नलाई कारबाही नगर्ने विषय उठेको कार्कीको अन्तर्वार्तासम्बन्धी विवरणमा उल्लेख भएको आचार्यको भनाइ छ ।
आयोग गठन भएदेखि नै एमालेले अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको स्मरण गराउँदै आचार्यले पछिल्लो अभिव्यक्तिले ती आशंकालाई थप बल पुगेको बताएका छन् ।
यसअघि एमालेले उठाएका प्रश्नलाई राजनीतिक आरोपका रूपमा व्याख्या गरिए पनि आयोगका अध्यक्षकै अभिव्यक्तिपछि अनुसन्धानको दायरा, निष्पक्षता र प्रतिवेदनका निष्कर्षबारे थप प्रश्न उठेको उनको दाबी छ ।
‘एमालेले सुरूदेखि उठाउँदै आएको आशंका राजनीतिक आरोप मात्र थियो वा त्यसमा अनुसन्धानयोग्य आधार पनि थियो भन्ने प्रश्न स्वयं अध्यक्ष कार्कीको अभिव्यक्तिले थप गम्भीर बनाएको छ,’ आचार्यले भनेका छन् ।
उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाका तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने दाबीसमेत गरेका छन् ।
‘अब कालो पर्दा खुल्दै जानेछ । नेकपा एमाले, लोकतन्त्र र देशविरुद्ध गरिएका षड्यन्त्रहरू क्रमशः पटाक्षेप हुँदै जानेछन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कार्की नेतृत्वको जाँचबुझ आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरे पनि त्यसमा समेटिएका विषय तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न विवरण सञ्चारमाध्यममार्फत सार्वजनिक हुँदै आएका छन् ।
अध्यक्ष कार्कीको पछिल्लो अभिव्यक्तिपछि जेन–जी आन्दोलनको पूर्वतयारी, घटनामा विभिन्न व्यक्तिको भूमिका, भदौ २४ गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनामाथिको अनुसन्धान र आयोगको प्रतिवेदनका निष्कर्षलाई लिएर पुनः बहस सुरु भएको छ ।