हिंसा र मुठभेडबाट समस्या समाधान हुँदैन : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कुनै पनि समस्या, असहमति वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले यस्तो बताएका हुन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै घाइते भएका सबै नागरिक तथा सुरक्षाकर्मीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । लामिछानेले नेपाली समाजको सबैभन्दा ठूलो शक्ति बहुलवाद, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता रहेको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पु‍र्याउने कुनै पनि गतिविधिमा नलाग्न सबैलाई आग्रह गरेका छन् । उनले उक्साहट र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन अहिलेको प्रमुख आवश्यकता रहेको पनि बताएका छन् । उनले सरकारले तत्काल शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र तनावग्रस्त अवस्थालाई सामान्य बनाउन प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । साथै घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडित पक्षलाई न्याय, राहत, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । लामिछानेले रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सधैं अडिग रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने पनि बताएका छन् । उनले यस्तो संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षलाई आग्रह गर्दै रास्वपाका स्थानीय समिति र कार्यकर्तालाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन् ।
प्रतिवेदन लेखनमै अलमलियो एमाले
काठमाडौं । नेकपा एमालेले पार्टीको संगठनात्मक पुनर्संरचनाको खाका तयार गर्न गठन गरेको उच्चस्तरीय कार्यदलले समयमै प्रतिवेदन बुझाउन नसक्दा केन्द्रीय कमिटी बैठक अन्योलमा परेको छ । पार्टीभित्र पुनर्संरचना, नेतृत्वको कार्यशैली र संगठनात्मक सुधारबारे व्यापक बहस चलिरहेका बेला केन्द्रीय कमिटी बैठकलाई निर्णायक रूपमा हेरिएको छ । तर बैठकको मुख्य एजेन्डा बन्ने प्रतिवेदन नै तयार हुन ढिलाइ भएपछि बैठकको मिति तय हुन सकेको छैन । एमालेले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठन गरेको पुनर्संरचना कार्यदल अहिले प्रतिवेदनलाई अन्तिम रूप दिन व्यस्त छ । कार्यदलले प्रदेश, जिल्ला, विशेष तथा जनसंगठनबाट प्राप्त सुझावहरूको अध्ययन गरेर साझा निष्कर्ष निकाल्ने प्रयास गरिरहेको स्रोतले जनाएको छ । सुझावहरूमा एकरूपता नहुँदा प्रतिवेदन लेखन अपेक्षाभन्दा लामो भएको बताइएको छ । जेठ १० मा कार्यदल गठन गर्दा सुरुमा एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो । तर निर्धारित समय बितिसक्दा पनि प्रतिवेदन तयार हुन नसकेपछि पार्टीले केन्द्रीय कमिटी बैठकको मिति सार्वजनिक गर्न सकेको छैन । एमाले स्रोतका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिएपछि मात्रै बैठक बोलाइने तयारी छ । पुनर्संरचनामै केन्द्रित बहस कार्यदलमा रहेका अधिकांश सुझाव पार्टीको संगठनात्मक संरचनामा व्यापक सुधार गर्नुपर्ने पक्षमा रहेको बताइन्छ । प्रदेशदेखि केन्द्रसम्मको संगठनात्मक संरचना, विभागहरूको पुनर्गठन, जनसंगठनको भूमिकाको पुनरावलोकन, सदस्यता व्यवस्थापन, कार्यशैली सुधार र पार्टी सञ्चालन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा सुझावहरू केन्द्रित छन् । स्रोतका अनुसार धेरै नेताले निर्वाचनपछि पार्टीले आत्मसमीक्षा गर्दै नेतृत्वको कार्यशैलीमा समेत सुधार आवश्यक रहेको धारणा राखेका छन् । उनीहरूले संगठनात्मक संरचना परिवर्तनलाई प्राथमिकतामा राखेको स्रोतले जानकारी दियो । यी विषयमा कार्यदलभित्र नै लामो छलफल भइरहेका कारण प्रतिवेदन अन्तिम रूप दिन समय लागेको बताइएको छ । पार्टी प्रचार प्रमुख निरज आचार्यले एक/दुई दिनमा प्रतिवेदन लेखन सकिने जानकारी दिए । त्यसपछि कार्यदल बैठक बसेर सचिवालयमा बुझाउनेछ । उनका अनुसार त्यसपछि सचिवालय बैठक बसेर बल्ल केन्दीय कमिटी बैठक आह्वान हुन्छ ।
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्वेले सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र सरकारको जवाफदेहिता माग गरेका छन् । सामाजिक सञ्जालमार्फत आङदेम्बेले उक्त घटनामा दुई जनाको मृत्यु हुनु र दर्जनौं व्यक्ति घाइते हुनु अत्यन्त पीडादायक भएको बताएका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आङदेम्वले संवेदनशील परिस्थितिमा सबै पक्षले उच्चतम संयमता अपनाउनुपर्नेमा जोड दिएका छन् । हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई शान्त रहन, सहिष्णुता कायम राख्न र सामाजिक सद्भाव जोगाउन आग्रह गरेका छन् । उनले सुरक्षाकर्मीलाई पनि कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्न आग्रह गरेका छन् । साथै सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । आङदेम्वले शान्ति सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको टिप्पणी गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र गृहमन्त्रीले तत्काल यसको जवाफ दिनुपर्ने माग गरेका छन् । उनले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ्दै गएको दाबी गर्दै आत्मदाहजस्ता दुःखद घटना तथा शान्ति सुरक्षासँग सम्बन्धित संवेदनशील घटनाहरू बारम्बार दोहोरिनुले सरकार प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न असफल भएको संकेत गरेको बताएका छन् । यस्तै, जिम्मेवार व्यक्तिहरूले संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत असहिष्णुता बढाउने गतिविधि नगर्न पनि उनले आग्रह गरेका छन् । आङदेम्बेले शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न सबैमा अपिल गरेका छन् ।