काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सात हजार हाराहारी महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।
बुधबार (आज) आयोजित पत्रकार सम्मेलनमा कांग्रेस निर्वाचन समितिले आगामी असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा उक्त संख्यामा प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो ।
कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लामा विपद्का कारण प्रभावित भएका अधिवेशनसम्बन्धी प्रक्रियाबाहेक अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिसकेको छ ।
हालसम्म करिब ८ लाख ७० हजार क्रियाशील सदस्य कायम रहेको कांग्रेसले जनाएकाे छ ।
क्रियाशील सदस्यबाट वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले प्रतिनिधिको अन्तिम संख्या सम्बन्धित तहका अधिवेशन र निर्वाचन प्रक्रिया पूरा भएपछि यकिन हुनेछ ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि चयन तथा अन्य निर्वाचनसम्बन्धी प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको जनाएको छ ।
कांग्रेसले महाधिवेशनका लागि आवश्यक संगठनात्मक तथा निर्वाचनसम्बन्धी अधिकांश तयारी पूरा भइसकेको जनाएको छ ।
महाधिवेशन प्रतिनिधि छनोट, मतदाता नामावली व्यवस्थापन, निर्वाचन कार्यतालिका र मतदानसम्बन्धी प्राविधिक तयारीलाई प्राथमिकताका साथ अघि बढाइएको निर्वाचन समितिको भनाइ छ ।
यसपटकको महाधिवेशन कांग्रेसको नेतृत्व चयनका दृष्टिले समेत महत्त्वपूर्ण मानिएको छ ।
सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि महाधिवेशनमा प्रतिनिधिहरूले मतदान गर्नेछन् । नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे समेत महाधिवेशनले निर्णय गर्नेछ ।
पार्टीभित्र महाधिवेशनको मिति, नेतृत्व चयन र आन्तरिक विवादका विषयमा विभिन्न धारणा सार्वजनिक भइरहेका बेला निर्वाचन समितिले भने तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढिरहेको जनाएको छ ।
निर्वाचन समितिका अनुसार महाधिवेशनको तयारीका क्रममा बाँकी रहेका प्राविधिक तथा व्यवस्थापकीय कामसमेत निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम विवरण भने सम्बन्धित तहका अधिवेशन तथा प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिनेछ ।