प्रतिवेदन टुंग्याउने दिन ओली निवासमा पौडेल, पोखरेल र थापा

काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलको प्रतिवेदनमा सहमति जुट्न नसक्दा पार्टीका आगामी बैठक अन्यौलमा परेका छन् ।

प्रतिवेदन टुंग्याउनुपर्ने दिन नै अध्यक्ष केपी शर्मा ओलीले कार्यदल संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई भक्तपुरको गुण्डुस्थित निवासमा बोलाएका छन् । 

यससँगै बिहीबार बस्ने भनिएको कार्यदल बैठकसमेत अनिश्चित बनेको छ । 

अहिले नेताहरू गुण्डु पुगेको पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनले भने, ‘प्रतिवेदनमा सहमति जुटाउने उद्धेश्यले नेताहरूको बैठक वोलाइएको हो ।’

कार्यदलले तयार गरेको पहिलो प्रतिवेदनमा नेतृत्व परिवर्तनसम्बन्धी विषय समेटिएपछि ओली असन्तुष्ट बनेका थिए ।

त्यसपछि ओलीनिकट नेताहरूको पहलमा अर्को प्रतिवेदन तयार पारिएको थियो । 

दुई प्रतिवेदनलाई एउटै बनाउने प्रयासमा थापा, पौडेल र पोखरेलबीच सहमति जुट्न सकेको छैन।

कार्यदलले प्रतिवेदन पारित नगरेसम्म त्यसलाई सचिवालय र केन्द्रीय कमिटीमा लैजान सकिँदैन । तर, असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाइएको छ, जसको मुख्य एजेण्डा नै यही प्रतिवेदन हो ।

पुनर्गठन पक्षधर नेताहरूले गुण्डु छलफलबाट पनि सहमति नजुटे कार्यदलको बहुमतबाट प्रतिवेदन पारित गरेर अघि बढ्ने तयारी गरेका छन् । 

ओली पक्षले भने अध्यक्षलाई हटाउने विषय समेटिएको प्रतिवेदन स्वीकार नगर्ने संकेत दिएको छ ।

Share News