गगनले रास्वपालाई भने- संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संसदीय समितिलाई महत्त्व नदिएको आरोप लगाएका छन् ।

सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री साहले संसदलाई बेस्वास्ता गर्दै आएको बताएका हुन् ।

प्रधानमन्त्रीले संसदको संस्थागत भूमिका र संसदीय समितिको मर्यादालाई पर्याप्त महत्त्व दिनुपर्ने उनको भनाइ छ । 

प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोल्दा समेत प्रधानमन्त्रीको उपस्थित नरहने गरेको उल्लेख गर्दै उनले सरकारको नेतृत्वबाट संसदलाई बेवास्ता गर्ने अवस्था बन्न नहुनेमा जोड दिए । 

उनले रसुवा बाढीपछिको विपद् व्यवस्थापनमा उच्चस्तरीय संसदीय समिति बनाउने सर्वदलीय निर्णयलाई प्रधानमन्त्रीले स्वीकार नगरेमा समस्या हुने बताए । 

यस विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ध्यानाकर्षण गराएको उनको भनाइ छ । 

संसदीय समितिलाई महत्वपूर्ण जिम्मेवारी दिइएपनि प्रधानमन्त्री स्वयंले समितिको काम र मर्यादालाई सम्मान नगर्ने अवस्था आएमा त्यसले समस्या निम्त्याउने सभापति थापाले बताए ।

उनले कांग्रेसले सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै संसदीय समितिमा बसेर काम गर्ने बताए । समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले ग्रहण गर्नुपर्ने उनको भनाइ छ ।

उनले संसदीय समिति गठन गर्दा त्यसको कार्यक्षेत्र, जिम्मेवारी र आगामी कामबारे प्रधानमन्त्रीसँग सुरुदेखि नै संवाद गर्न रास्वपा सभापतिलाई सुझाव दिएको बताए । 

यसो गर्दा समितिले तयार गर्ने प्रतिवेदन कार्यान्वयनका क्रममा सरकार र संसदबीच असमझदारी नहुने उनको भनाइ छ । 

संसदीय समिति गठनको विषयमा दलहरूबीच सहकार्य जारी रहने उनले बताए । 

एक साताभित्र संसदीय समिति गठनका लागि सभामुखलाई औपचारिक रूपमा आग्रह गर्ने विषयमा बैठकमा समझदारी भएको उनले जानकारी दिए ।

Share News