काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पार्टीको संरचनामा समायोजन गर्ने निर्णयसँगै देउवा पक्षसहित तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट नेताहरू सानेपा जाने तयारीमा रहेको नेताहरूले बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीको सांगठनिक संरचनामा समायोजन हुन आह्वान गरेको थियो । त्यसपछि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले नयाँ कार्यसमितिको बैठकमा सहभागी हुने तयारी गरेका हुन् ।
केन्द्रीय सदस्य नैनसिंह महर पार्टीमा समायोजनको निर्णय भएपछि आफूहरू बैठकमा सहभागी हुन तयार रहेको बताए । उनका अनुसार आफूहरूमध्ये केही नेताहरू सानेपा जाने विषयमा छलफल भइरहेको छ ।
महरसहित डिना उपाध्याय, श्याम घिमिरे, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, जीवनबहादुर शाही र गोविन्द भट्टराईलगायत नेता बैठकमा सहभागी हुने तयारीमा रहेका छन् ।
विशेष महाधिवेशनबाट बाहिर रहेका ४० भन्दा बढी केन्द्रीय सदस्य आजको बैठकमा सहभागी हुने कांग्रेस नेताहरूको दाबी छ । नेता मनोजमणि आचार्यका अनुसार आजको केन्द्रीय समिति बैठक पूर्ण एकताको सन्देश दिने बैठक हुनेछ ।