महाधिवेशनपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सुरु

संगठन र कार्यदिशामाथि केन्द्रित छलफल

काठमाडौं । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित दोस्रो केन्द्रीय समितिको पहिलो बैठक बुधबार (आज) काठमाडौंमा सुरु भएको छ ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’मा सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बसेको हो।

बैठकको प्रारम्भमै महाधिवेशनका क्रममा पद तथा गोपनीयताको शपथ लिन छुटेका केही नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराइएको पार्टीले जनाएको छ ।

महाधिवेशनपछिको पहिलो औपचारिक बैठक भएकाले संगठनलाई थप प्रभावकारी बनाउने रणनीति, महाधिवेशनको समग्र समीक्षा, आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा र समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, महाधिवेशनबाट पारित निर्णयहरूको कार्यान्वयन, पार्टीको संगठन विस्तार, विभाग गठन तथा आगामी कार्यक्रमहरूको रूपरेखाबारे समेत बैठकले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

Share News