डान्सबार, स्पा सेन्टर र गेस्टहाउसमा वेश्यावृत्ति, ५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्पा र होटलबाट ८ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा ५ जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट ८ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-१२  की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका-४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका-१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका-६ का ४९ वर्षीय भीमबहादुर साउद छन् । काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजा घर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरूलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो । प्रहरीले काठमाडौं ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट ती बालिकाको उद्धार गरेको पनि प्रवक्ता खड्काले बताए । उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पनि उनले बताए । 

प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्र भित्र्याउने इप्पानको प्रस्ताव, प्राधिकरणसँग छलफल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ ।  बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको तथा विद्युत व्यापारका लागि समेत प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गरेको थियो ।  निजी क्षेत्र र प्राधिकरणसँगको सहकार्यमा निर्माण गरेको प्रसारण लाइनको निर्माण छिटो सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै अन्य आयोजनाहरुमा पनि सहकार्य गर्न तथा प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीको सेयर होल्डरको रुपमा निजी क्षेत्रलाई भित्र्याएर त्यहाँमार्फत समेत दुवै मिलेर सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको हो ।  इप्पान अध्यक्ष गणेश कार्कीले प्रसारण लाइन अभावको कारणले ठूलो समस्या भोगेको उल्लेख गर्दै निजी क्षेत्र प्राधिकरणसँग मिलेर सहकार्य गर्न तयार रहेको बताए ।  उनले विद्युत व्यापारको लागि निजी क्षेत्रलाई अनुमतिपत्र नदिएसम्मका लागि समेत प्राधिकरणको व्यापार कम्पनीमा निजी क्षेत्रलाई सहभागी गराएर व्यापार अघि बढाउन सकिने बताए ।  सो अवसरमा अध्यक्ष कार्कीले विद्युत खरिद सम्झौता (पीपीए) तुरुन्तै खुला गर्न, आरसीओडी म्याद थप गर्न, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्न, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्नेमा जोड दिँदै यस्ता मागहरु तुरुन्तै सम्बोधन गर्नुपर्ने बताए ।  इप्पान बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्र र प्राधिकरणसँग सँगै अघि बढेर मात्र ऊर्जा क्षेत्रको विकास हुनु बताउँदै दुवैको सहकार्य बलियो हुनुपर्ने बताए । इप्पान उपाध्यक्षहरू आनन्द चौधरी, उत्तम ब्लोन लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र्र दुलाल लगायतले विद्युत प्राधिकरणले उपर्युक्त मोडल ल्याएर निजी क्षेत्रलाई प्रसारण लाइनमा सहभागी गराउनुपने बताए ।  कार्यकारी निर्देशक शाक्यले निजी क्षेत्रले समयमै प्रसारण लाइन निर्माण गर्न सक्ने अवस्था रहेको बताउँदै निजी क्षेत्र र प्राधिकरण संयुक्त रुपमा मिलेर प्रसारण लाइन निर्माण गर्ने अभ्यास सुरु भैसकेकोले यसलाई अघि बढाउनुपर्नेका विकल्प नभएको बताए ।  ‘प्रसारण लाइनको समस्या सबैभन्दा बढी देखिएको छ, यसको कारणले कन्टीजेन्सी लगायतका समस्या आएको हो, प्रसारण लाइन निर्माणले धेरै समस्या समाधान हुन्छ ।’ उनले भने, ‘प्राधिकरणसँग पर्याप्त बजेट नभएको बेलामा निजी क्षेत्रको लगानी ल्याउन सकिएमा यसले प्रसारण लाइनको मुख्य समस्या समाधान गर्छ ।’  उनले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराएर उत्पादन र खपतबीचको सन्तुलनको आवश्यकता रहेको बताउँदै विद्युत प्राधिकरणको व्यापार कम्पनीमा निजी क्षेत्रको सहभागिताबारे भने अध्ययन गर्ने बताए । उनले विद्युत व्यापार कम्पनी सक्रिय बनाउन लागिएको पनि जानकारी दिए ।

रविको पौने ३ करोड बैंक ग्यारेन्टी स्वीकार

काठमाडौं । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतसमक्ष पेश गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गरेको छ ।  अदालतले सो रकमलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म बिगोको हकमा सुरक्षित राख्ने व्यवस्था गर्न आदेश दिएको हो । वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गर्दै बैंक ग्यारेन्टी स्वीकार गरेसँगै लामिछानेले धरौटीमा बाहिर बसेर मुद्दा लड्न पाउने व्यवस्था भएको छ ।  यसअघि सम्बन्धित मुद्दामा बिगो बराबरको रकम सुरक्षित गर्नुपर्ने मागसहित कानुनी प्रक्रिया अघि बढाइएको थियो। अदालतको आदेशपछि अब मुद्दाको नियमित सुनुवाइ अगाडि बढ्नेछ भने बिगोको विषयमा अन्तिम निर्णय फैसलासँगै हुने अदालतले जनाएको छ ।