शव व्यवस्थापनमा नेपाल प्रहरी सक्रिय, लुटपाटमा संलग्न ३० भन्दा बढी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिबार कुरा गर्दै विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सङ्गठन अहोरात्र खटिएको बताएका हुन् । प्रहरीका अनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ । बेपत्ता व्यक्तिहरूको खोजीका लागि अनलाइन माध्यमबाट निवेदन लिने व्यवस्था मिलाइएको र घाइतेहरूको विवरण प्रहरीको फेसबुक पेजमार्फत नियमित अद्यावधिक भइरहेको छ । हराइरहेका व्यक्तिको हुलिया र तीनपुस्ते विवरणका आधारमा अस्पतालहरूमा समन्वय गरी पहिचान गर्ने कार्य भइरहेको डीआईजी काफ्लेले बताए । यसैगरी, सम्पर्कविहीन विदेशी पर्यटकहरूको खोजी र विवरण संकलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा पर्यटक प्रहरी परिचालन गरिएको छ । नेपाल टेलिकमसँगको समन्वयमा बेपत्ता व्यक्तिहरूको अन्तिम लोकेसन ‘ट्याली’ गरी खोजी कार्यलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।  विपद्को मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कडा निगरानी राखेको छ । चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै, बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर चोरी गर्न खोज्ने २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए । सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्लेले उल्लेख गरे । अवरुद्ध भएका मुख्य राजमार्गहरू खुलाउन प्रहरी टोली निरन्तर खटिएको र धादिङ लगायतका स्थानमा सडक सुचारु गराइएको पनि जानकारी दिए । नदी किनारमा रहेका शवहरूको पहिचानका लागि ड्रोन प्रयोग गरी खोजी कार्य भइरहेको उनले बताए । काठमाडौँको टिचिङ अस्पताल, पोखरा र चितवन लगायतका स्थानमा शव व्यवस्थापन र हस्तान्तरणको प्रक्रिया सुरु गरिएको छ । पहिचान हुन नसकेका शवहरूको हकमा नयाँ पारित कार्यविधिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ ।  उद्धार र खोजी कार्यमा केही प्राविधिक र भौतिक चुनौती रहेको प्रहरीले जनाएको छ । खोला किनारको दलदलमा हिँड्न सहज हुने विशेष प्रकारका बुट, वायरलेस ट्रयाकिङ डिभाइस र कम्तीमा १०० केजी तौल बोक्न सक्ने क्षमताका ड्रोनहरू आवश्यक रहेको प्रवक्ता काफ्लेले बताए । प्रभावित क्षेत्रमा थप फरेन्सिक चिकित्सकहरूको आवश्यकता रहेको र शवलाई सुरक्षित राख्न ‘रेफ्रिजिरेटिङ कन्टेनर’ का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको उनले जानकारी दिए। हाल जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा शव व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्य समेत भइरहेको काफ्लेले बताए ।

नुवाकोटका देवचन्द्र रिजाल सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

काठमाडौं । रसुवा गएका नुवाकोट विदुर नगरपालिका–२ निवासी देवचन्द्र रिजाल सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार रिजालसँग भदौ ९ गते राति करिब ८ देखि ९ बजेसम्म सम्पर्क भएको थियो। भदौ १० गतेदेखि उनीसँग कुनै पनि सम्पर्क हुन नसकेको परिवारले जनाएका छन्। परिवारका अनुसार बुधबार दिउँसो करिब १ बजेपछि उनको मोबाइल फोन बन्द भएको थियो। त्यसयता उनको अवस्था तथा उनी कहाँ छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। बुधबार रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध भइरहेका बेला रिजालसँग पनि सम्पर्क विच्छेद भएको परिवारजनले बताएका छन्। उनलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी हुने व्यक्तिलाई परिवारजन तथा सम्बन्धित निकायलाई जानकारी गराइदिन परिवारले आग्रह गरेका छन्।

बाढीपीडितका लागि ग्यास उद्योग संघले १२ सय बढी सिलिन्डर सहयोग गर्ने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल आयल निगममार्फत लक्षित वर्गलाई ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । संघका अनुसार प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाउन सबै पक्षसँग अपिल गरिएको छ । संघले विपद् कुनै एक व्यक्ति वा संस्थाको मात्र समस्या नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई सम्बोधन गर्न ग्यास सहयोग गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले बाढी प्रभावित परिवारसम्म राहत सामग्री छिटो र प्रभावकारी रूपमा पुर्‍याउन संघ प्रतिबद्ध रहेको बताएका छन्।