विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।      पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौं तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।      उनले भने, 'पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु ५० लाख, निरौलाले टर्की पठाउने भन्दै रु दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै रु सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।'      पक्राउ परेका सातै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रवक्ता कार्कीले बताए ।     

यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७० पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २३ रुपैयाँ ०८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कारागार र विमानस्थलको सुरक्षा नेपाली सेनालाई

काठमाडौं । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका-१२, टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन गरिएको हो । कार्यरत प्रहरी निर्वाचनका लागि खटिनुपर्ने भएकाले ती दुवै ठाउँको सुरक्षाका लागि सेनालाई जिम्मेवारी दिइएको हो । जिल्लामा रहेका नेपाली सेनाको नयाँ श्रीनाथ गणले कारागार कार्यालय र विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हालेको ती कार्यालयले जनाएका छन् ।  सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका कारागार, विमानस्थल तथा आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय अनुरूप ती ठाउँको सुरक्षामा सेना खटिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए । गत माघ २१ गतेदेखि निर्वाचनका लागि शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गर्ने निर्णयसँगै भोजपुरका ग्रामीण क्षेत्रमा पनि अहिले नेपाली सेनाले अन्य सुरक्षा निकायसँगको सहकार्यमा गस्तीलगायत कार्य गरिरहेको छ ।