बाढीपीडितको राहतका लागि जावलाखेल ग्रुपले दियो ३ करोड
काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने सरकारको प्रयासमा साथ दिँदै जावलाखेल ग्रुपले उक्त रकम हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ । विपद्का कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै कम्पनीले बाढीबाट प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ । जावलाखेल ग्रुपले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, पुनस्र्थापना र पुनःस्थापनाका प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धतासमेत जनाएको छ । ‘राहत, पुनस्र्थापना, पुनर्निर्माण र ऐक्यबद्धता’लाई प्राथमिकतामा राख्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिएको जनाएको छ ।
नाइमाले प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नाइमाका सदस्य कम्पनीहरूले विपद्को सुरुवातदेखि नै आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान दिँदै आएका छन् । संस्थाले सदस्य कम्पनीहरूको यस सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि प्रभावित नागरिकको सहयोगमा निरन्तर सक्रिय रहन आग्रह गरेको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले विपद्को कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको साझा दायित्व भएको बताइन् । उनले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै सहयोगका लागि तत्पर सदस्य कम्पनीहरूप्रति धन्यवाद व्यक्त गरिन् । नाइमाले खोज, उद्धार तथा राहतमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थाप्रति सम्मान व्यक्त गरेको छ । साथै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावितको सहयोगमा हातेमालो गर्न आह्वान पनि गरेको छ ।
फुर्केखोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन
काठमाडौं । रसुवा बाढीका कारण क्षतिग्रस्त काठमाडौं–धादिङबेँसी जोड्ने फुर्केखोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ । बाढीले धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुल बगाउनुका साथै पुलको एउटा पियरसमेत क्षतिग्रस्त बनाएपछि सडक विभागले तत्काल बेलीब्रिज राखेर यातायात सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरेको हो । सडक विभागका महानिर्देशक डा. विजय जैसीले स्थलगत निरीक्षणपछि पुलको लम्बाइ र पियरको अवस्थाका कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने देखिएको बताए । उनका अनुसार फुर्केखोलामा लामो स्पानको बेलीब्रिज तत्काल उपलब्ध हुने अवस्था देखिएको छैन । छोटो स्पानका बेलीब्रिजलाई दुईतर्फका पियरसँग जोड्दा पनि आवश्यक लम्बाइभन्दा कम हुने भएकाले तत्काल बेलीब्रिज राख्न समस्या देखिएको हो । ‘यो हाम्रो ठूलो र महत्वपूर्ण लाइफलाइन ब्रिज थियो। अस्तिको ठूलो र विनाशकारी वर्षा, बाढी तथा पहिरोले यो पुल बगाएर लग्यो,’ महानिर्देशक जैसीले भने, ‘पुलको लम्बाइ र पियरको अवस्थालाई हेर्दा तत्काल बेलीब्रिज राख्न केही कठिन हुने देखिएको छ ।’ यद्यपि पुलको विस्तृत अवस्था र पुनः सञ्चालनको सम्भावना यकिन गर्न सडक विभागले प्राविधिक टोली खटाउने भएको छ । प्राविधिक अध्ययनपछि मात्रै पुललाई कुन विधिबाट र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्ने विभागले जनाएको छ । विभागले तत्कालका लागि मुख्यतः दुई विकल्पमा अध्ययन गर्ने भएको छ । पहिलो, हाल बाँकी रहेका संरचनालाई प्रयोग गरी त्यसमाथि नयाँ डेक निर्माण गर्ने र दोस्रो, क्षतिग्रस्त पुलसँग जोडेर नयाँ पुल निर्माण गर्ने विकल्पमा अध्ययन गरिनेछ । महानिर्देशक जैसीले उपलब्ध संरचना प्रयोग गरेर नयाँ डेक राख्न सम्भव भए त्यसलाई स्थायी प्रकृतिको संरचनाका रूपमा विकास गर्न सकिने बताए । त्यसो गर्न सम्भव नभए नयाँ पुल निर्माण गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । ‘यो पुल बनाउनैपर्छ। आवश्यक प्राविधिक अध्ययन गरेर तुरुन्तै निर्माण प्रक्रियामा जाने विषयमा हामी चाँडै निर्णय गर्छौं,’ उनले भने । यसैबीच पुल बगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलादेखि मासटारसम्मको सडकलाई तत्कालका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ । विभागले उक्त वैकल्पिक सडकलाई तत्काल ग्राभेल गरी यातायात आवागमन सहज बनाउने तयारी गरेको छ ।