कृष्णभीरको सडक पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएको छ । लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा सडकको ठूलो हिस्सा भासिएर ध्वस्त भएको हो ।  सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ ।  विभागको प्राविधिक टोलीले सो स्थानको भौगोलिक अवस्था र सडक भासिनुको कारणबारे विस्तृत अध्ययन सुरु गरेको जनाएको छ ।  अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा सडकको पुनःनिर्माण तथा मर्मत कार्यलाई अगाडि बढाइने विभागले उल्लेख गरेको छ ।  सडक भासिएका कारण सो क्षेत्रमा यातायात आवागमन समेत प्रभावित भएको छ ।  भदौ १० गते रसुवा हुँदै आएको भोटेकोशी बाढी र धादिङ त्रिशूली नदीको कटानका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।

२ हजार ४९८ जना अझै सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ ।  परराष्ट्र मन्त्रालयले आइतबार (आज) दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।  प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २  हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताए ।  उनका अनुसार हालसम्म ८ सय ८१ जनाको बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ ।  उद्धार गरिएकामध्ये २ सय ६१ जना विदेशी नागरिक रहेको उनले जानकारी दिए । उनले ४ सयभन्दा बढी विदेशी पर्यकटहरु अझै पनि सम्पर्कविही अवस्थामा रहेको समेत जानकारी दिए ।  सचिव राईले सम्पर्कविहीन भएका नागरिकको खोज र उद्धारमा राज्य संयन्त्र पूर्ण क्षमातासहित परिचालित रहेको बताए ।  उनले बाढी प्रभावित नागरिकको विवरण परराष्ट्र मन्त्रालय, विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग तथा आधिकारिक च्यानलबाट हेर्न सकिने समेत बताए । उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सुरक्षा निकायसहितको सहकार्यमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाहरूमा खोज, उद्धार तथा राहतको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिए ।  सचिव राईले यस कठिन समयमा सरकार र सरकारसँग संयन्त्रहरुले मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग समेत निरन्तर सम्पर्क र सहकार्य गरिरहेको पनि बताए ।  उनले परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रल रुममार्फत सम्पर्कविहीन भएका नागरिकका परिवार सम्बन्धीत देशका नियोगहरूसँग निरन्तर रूपमा सम्पर्क गरिरहेको समेत जानकारी दिए । उनले हालसम्म भारत, चीन, युएई लगायतका देशहरूबाट राहत सामग्री प्राप्त गरिसकेको बताए ।  सचिव राईले यसबीच प्रधानमन्त्री बालेन्द्र साह र परराष्टमन्त्री शिशिर खनालले विभिन्न छिमेकी देशका समकक्षीहरूसँग फोनवार्ता गरेको समेत जानकारी दिए । 

सुरुङभित्र फसेकाको उद्धारमा जुट्यो ९० जनाको टोली

नुवाकोट । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले तीव्र प्रयास अघि बढाएको छ ।  सुरुङभित्र पुग्न सहज बनाउन नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्ने तयारीसहित प्वाल फराकिलो पार्ने काम अघि बढाएका छन् । उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली परिचालित छ । टोलीले यसअघि दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २ बाई ३ फिटको प्वाल बनाएको थियो ।  त्यसपछि डोरीको सहायताले उद्धार टोलीका सदस्य सुरुङभित्र तल झरेर फसेका मानिसलाई बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ । उद्धारलाई थप सहज र तीव्र बनाउन अहिले ठूला उपकरण परिचालन, प्वाल फराकिलो पार्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारी एकसाथ अघि बढाइएको छ ।   कठिन तथा जोखिमपूर्ण भौगोलिक अवस्थाबीच पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली उद्धार प्रयासमा जुटिरहेको छ ।