नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल
काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा महासचिव शंकर पोखरेलले पार्टीका भावी संगठनात्मक संरचना, कार्यदिशा र आन्तरिक व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरूबारे जानकारी गराए । बैठकले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारीहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको उनले बताए । महासचिव पोखरेलका अनुसार पार्टीको दीर्घ अनुभव, वैचारिक निरन्तरता र संगठनात्मक मार्गदर्शनलाई संस्थागत गर्न परिषद् गठन गर्ने निर्णय गरिएको हो । परिषदमा पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य तथा अनुभवी नेताहरू रहने उनले जानकारी दिए । अध्यक्ष ओलीले पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सक्षम बनाउने गरी काम गर्न निर्देशन दिएको उनले बताए । बैठकमा पार्टी संगठनलाई सबै तहमा मजबुत बनाउने, महाधिवेशनबाट आएको जनादेशलाई व्यवहारमा उतार्ने तथा पार्टीभित्र एकता र अनुशासन कायम गर्ने विषयमा विशेष जोड दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए। केन्द्रीय कमिटी बैठकमा पार्टीका विभिन्न विभागहरूको पुनर्संरचना, जिम्मेवारी बाँडफाँड र कार्यविधि तय गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । आवश्यक तयारीपछि विभागीय प्रमुख तथा सदस्यहरू तोकिने जनाइएको छ । बैठकमा आगामी बैठक र कार्ययोजना सम्बन्धमा पनि छलफल भएको छ पार्टीको अर्को बैठक पुष २६ देखि २९ सम्म बस्ने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारमा जानेका लागि निर्धारित स्वास्थ्य परीक्षण शुल्क अत्यन्तै महंगो भएको उल्लेख गर्दै पछिल्लो पटक भएको शुल्क वृद्धिमा पुनारवालोकन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको बताए । 'स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदैछौ', उनले भने । मन्त्रालयले केही समय अघि ६ हजार ५०० रहेको शुल्क बढाएर नौ हजार ५०० बनाएको थियो । मन्त्री भण्डारीले वैदेशिक रोजगारी जानेहरुलाई सीपमुलक तालिम दिने बाहानामा विभिन्न ठगीका घटना बढेको उल्लेख गर्दै सरकारले आफैले तालिम दिने विषयमा पनि सोचिरहेको बताए । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा संयन्त्रगत रुपमा काम सुरु गरिएको पनि उल्लेख गरे । कार्यक्रममा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले मानव अधिकार हरेक श्रमिकको अधिकार भएकाले सम्मानजनक रुपमा श्रम गर्न पाउनुपर्नेमा जोड दिए । श्रमिकको अधिकार सुनिश्चित गर्न वैदेशिक रोजगार व्यवसायी, मानव अधिकार सञ्जाल, संघसस्थालगायत निजी क्षेत्रको हातेमालोबाट मात्रै सम्भव हुने उनको भनाइ थियो । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगारका नयाँ गन्तव्यमा रोजगार गर्न जान पाउने मानव अधिकारलाई राज्यले सहज बनाउनु पर्नेमा जोड दिए । मन्त्रालयका उपसचिव महेश पराजुली र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपि) का प्रतिनिधि टेक टमाटाले श्रम र मानव अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । मन्त्रालयले अन्तरराष्ट्रिय आप्रवासन दिवस पुस ७ गतेसम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।
नेकपा एमाले केन्द्रीय लेखा आयोगको पहिलो पूर्ण बैठक सम्पन्न
काठमाडौं । नेकपा एमालेको केन्द्रीय लेखा आयोगको पहिलो पूर्ण बैठक पार्टीको केन्द्रीय मुख्यालय च्यासलमा सम्पन्न भएको छ । बैठकले पार्टीको लेखा तथा वित्तीय व्यवस्थासँग सम्बन्धित विविध विषयमा निर्णय गरेको जानकारी लेखा आयोगका सचिव ईश्वरीप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको विधान, नीति र लोकतान्त्रिक अभ्यासअनुसार सम्पन्न महाधिवेशनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जिम्मेवार बनाउने विश्वास लिएको छ। लेखा आयोगमार्फत पार्टीलाई आर्थिक रूपमा पारदर्शी, अनुशासित र सुदृढ बनाउने दिशामा इमान्दारितासाथ जिम्मेवारी निर्वाह गरिने प्रतिवद्धता बैठकले गरेको खरेलले जानकारी दिए । सचिव खरेलका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरूले आफूहरूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मानसमेत गरेका छ ।