प्रधानमन्त्री राहत कोषमा चिनियाँ सरकारको ३० करोड सहयोग
काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरे । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गरे । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । नेपालको विपत्तिमा चीन सधैं साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आजमात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए । साथै थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ । रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए । त्यस्तै, जलविद्युत कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप केही दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रुत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए । नेपाल सरकारको तर्फबाट चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन व्यक्त गरे । विपत्तिकै कारण दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको भन्दै उनले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख व्यक्त गरे । विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले बेहोर्नु पर्ने कारणको सुरुवात भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो जरुरी रहेको बताए ।
जलविद्युत आयोजनामा करिब ९ सय जना सम्पर्कविहीन
काठमाडौं । भदौ १० गते आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब ९ सय जना सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा ८९८ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेको संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा धेरै छ । २१६ मेगावाट क्षमताको उक्त आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ । यहाँबाट २५४ जनाको उद्धार भइसकेको छ भने करिब ३०० जना अझै सुरुङभित्र फसेको बताइएको छ । त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनामा ४२ जना, २२ मेगावाटको चिलिमेमा ८ जना, ५ मेगावाटको मैलुङ खोलामा ७ जना र १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा ४ जना सम्पर्कविहीन छन् । लाङटाङ खोलामा सम्पर्कविहीनमध्ये १८ जनाको उद्धार भए पनि २५ जना अझै सुरुङभित्र रहेको जनाइएको छ। मैलुङ खोलाका ७ जना पनि सुरुङमै फसेका छन् । यस्तै, नुवाकोटका चार जलविद्युत् आयोजनामा पनि १६८ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ । जसअनुसार ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना, १९.६ मेगावाटको मिडल त्रिशूली गंगामा २ जना, २४ मेगावाटको त्रिशूली आयोजनामा १ जना र १४.९ मेगावाटको देवीघाट आयोजनामा १ जना सम्पर्कविहीन छन् । माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ११ जनाको उद्धार भइसकेको छ । बाढीपछि आयोजनाका कर्मचारी तथा कामदारको उद्धारलाई प्राथमिकतामा राखिएको छ । विशेषगरी सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा प्राविधिक टोलीले निरन्तर प्रयास गरिरहेका छन् ।
बाढीपहिरो पीडितका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । विपदबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्याइनेछ । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफका कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन् । विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन् ।