जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनअघि स्टेसनको पूर्वाधार सुधार गर्न माग

काठमाडौं । जनसरोकार अभियानले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी भइरहेका बेला जनकपुरधामस्थित रेल्वे स्टेसनको भौतिक पूर्वाधार तथा यात्रु सुविधामा सुधार गर्न माग गरेको छ ।

जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनी, जनकपुरधामलाई ज्ञापनपत्र बुझाउँदै स्टेसनको सरसफाइ, खानेपानी, शौचालय, प्रतीक्षालयलगायतका आधारभूत सुविधा व्यवस्थित गर्न माग गरेको हो ।

अभियानका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको टोलीले रेल चढ्ने र ओर्लिने यात्रुको सहज व्यवस्थापन गर्नुपर्ने, बिग्रिएका भौतिक संरचना तथा विद्युतीय उपकरणको मर्मतसम्भार गर्नुपर्ने, रेल्वे परिसरभित्रका खाली जग्गालाई व्यवस्थित पार्क तथा बगैँचाका रूपमा विकास गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै, निर्माण सम्पन्न भएका दैनिक हाटबजारका सटर तथा भवन सञ्चालनमा ल्याउन र रेल्वे क्रसिङमा हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सडक मर्मत तथा छेकबारको उचित व्यवस्था गर्न पनि अभियानले आग्रह गरेको छ ।

अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जनकपुरधामका लागि जानकी मन्दिरजस्तै रेल्वे पनि पहिचान भएकाले यसको संरक्षणका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । उनले यसका लागि आफूहरू तयार रहेको पनि बताए ।

नेपाल र भारतबीचको सहकार्यमा अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्ने योजना अघि बढिरहेको सन्दर्भमा यात्रुले भोग्न सक्ने समस्या समयमै समाधान गर्न अभियानले आग्रह गरेको हो । 

Share News