यी हुन् एमालेका निर्वाचित १९ पदाधिकारी, कसले कति मत पाए ?
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको मतगणना सम्पन्न भएको छ । अध्यक्षदेखि सचिवसम्मको पदाधिकारीमा ओली प्यानल विजयी भएको छ । यस्तो छ मत परिणाम : अध्यक्ष : केपी शर्मा ओली १ हजार ६६३ मत उपाध्यक्ष : पृथ्वीसुब्बा गुरुङ १७३७ मत विष्णुप्रसाद पौडेल १६७५ मत रामबहादुर थापा बादल १५१६ मत गोकर्णराज विष्ट १३६८ मत गुरुप्रसाद बराल ११३७ मत महासचिव : शंकर पोखरेल १२२८ मत उपमहासचिव : लेखराज भट्ट १४५२ मत रघुवीर महासेठ १३६८ मत योगेश भट्टराई १३४८ मत सचिव : महेश बस्नेत १५४४ मत पद्मा कुमारी अर्याल १५३० मत छविलाल विश्वकर्मा १५०६ मत शेरधन राई १५०३ मत खगराज अधिकारी १३३७ मत हिक्मत कुमार कार्की १३३७ मत यमलाल कँडेल ११८५ मत राजन भट्टराई ११८१ मत भानुभक्त ढकाल ११०८ मत
अध्यक्षमा ओलीको ह्याट्रिक
काठमाडौं । केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे । यसअघि नवौं र दशौं महाधिवेशनमा पनि ओली नै अध्यक्ष बनेका थिए । ओलीको जन्म २००८ फागुन ११ गते तेह्रथुम जिल्लामा भएको हो । उनको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको हो । झापा आन्दोलनको समयमा उनी कम्युनिष्ट राजनीतिमा सक्रिय भए । पञ्चायती शासनविरुद्ध भूमिगत आन्दोलनमा सहभागी हुँदा उनी पटक–पटक पक्राउ परे र करिब १४ वर्ष निरन्तर जेल जीवन बिताए । यही कालखण्डले उनलाई कट्टर कम्युनिष्ट कार्यकर्ता र अनुशासित संगठनकर्ता बनायो । २०४२ सालमा जेलमुक्त भएपछि ओली पुनः भूमिगत भए । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्थापना भएलगत्तै ओली खुला राजनीतिमा आए । त्यसपछि नेकपा एमालेको संगठन विस्तार, आन्दोलन र संसदीय अभ्यासमा उनी सक्रिय भए । उनी एमालेभित्र व्यावहारिक राजनीतिका पक्षधर मानिन्थे । २०५० र २०६० को दशकमा ओली एमालेको केन्द्रीय नेतृत्वमा स्थापित भए । पार्टीभित्र स्पष्ट वक्तृत्व, राष्ट्रिय मुद्दामा कडा अडान र निर्णायक शैलीका कारण उनी फरकयो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए । ओली पटकपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका व्यक्ति हुन् । उनी विभिन्न समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, परराष्ट्र मन्त्रीलगायत जिम्मेवारीमा रहे । २०७२ सालमा संविधान जारी भएपछि ओली पहिलो पटक प्रधानमन्त्री बने । त्यसबेला भारतसँगको नाकाबन्दीका समयमा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको मुद्दा उठाएर उनले व्यापक जनसमर्थन कमाए । २०७४ को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनमार्फत उनी दोस्रो पटक प्रधानमन्त्री बने । यही कालखण्डमा चीनसँग पारवहन सम्झौता, ठूला पूर्वाधार योजनाहरू र समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अघि अघि बढाए । २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनबाट ओली पहिलो पटक एमाले अध्यक्ष निर्वाचित भएका हुन् । एमालेका शक्तिशाली नेता माधव नेपाललाई पराजित गरेर ओली पहिलो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसपछि पार्टी एकता, विघटन, पुनः एमाले पुनःस्थापना जस्ता जटिल राजनीतिक प्रक्रियाको केन्द्रमा ओली रहे । माधव नेपाल, झलनाथ खनाललगायत नेतासँगको आन्तरिक संघर्षपछि उनले पार्टीमा आफ्नो पकड थप बलियो बनाए । दशौं र एघारौं महाधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित हुँदै उनले एमालेभित्र निर्णायक नेताको हैसियत कायम राखेका छन् । ओलीलाई समर्थकहरूले राष्ट्रवादी, स्पष्टवक्ता र दृढ नेतृत्वकर्ता मान्छन् भने आलोचकहरूले उनलाई सत्ता केन्द्रित र कठोर नेतृत्व शैली भएको नेता भन्छन् । यद्यपि तीन दशकभन्दा लामो राजनीतिक यात्रामा ओली नेपाली कम्युनिष्ट आन्दोलन र राज्य राजनीतिमा केन्द्रीय पात्रका रूपमा स्थापित रहेका नेता हुन् ।
अध्यक्षमा ओली निर्वाचित
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले १ हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । निर्वाचन परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।