काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई पुनः चुनौती दिएका छन् ।
बुधबार पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको बताएका हुन् ।
अध्यक्ष लिङ्देनले आफूले संसद्मा प्रतिनिधित्व गर्दादेखि नै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराए । उनले भ्रष्टाचारको आरोप प्रमाणित भएमा आफू सजाय भोग्न र राजनीतिबाटै सन्न्यास लिएर विपक्षीको घरमा भाँडा माझ्नसमेत तयार रहेको दाबी गरे ।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिनुलाई उनले रहस्यमय भन्दै आफूले स्वेच्छाले सम्पत्ति विवरण बुझाएको जानकारी दिए ।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै लिङ्देनले कार्यकर्ता र नेतृत्वलाई संयमित रहन आग्रह गरे । उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै निजी स्वार्थका लागि पार्टी र सहकर्मीको मानमर्दन गर्ने कार्य नगर्न सचेत गराए ।
उनले भने, ‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्बाट निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु । म सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी छु । त्यसैले राप्रपा भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्छ ।'
उनले आफ्नो अडान सिद्धान्तमा मात्र नभई मन, वचन र कर्ममा आधारित रहेको जिकिर गरे । आगामी दिनमा राप्रपाले भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुखताका साथ अगाडि बढाउने उनको भनाइ छ ।