८ जिल्लामा ६१६ जनाको शव फेला

काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी ८ जिल्लामा ६१६ जनाको शव फेला परेको छ । शनिबार ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ६१६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ । बाढी तथा पहिरोमा परी हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ । प्रहरीका अनुसार बाढी तथा पहिरोमा परी २ हजार ३०१ घाइते भएका छन् । घाइतेमध्ये रसुवामा ६७६ जना, नुवाकोटमा १ हजार ६२२ जना र धादिङमा ३ जना रहेका छन् । यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको प्रहरीले जनाएको छ । 

पृथ्वी राजमार्गमा यातायात सञ्चालन

काठमाडौं । तीन दिनपछि काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै यातायात सञ्चालनमा आएको छ ।  भोटेकोशी नदीमा आएको बाढीका कारण चितवनको नारायणगढसम्मको सडक प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । बाढीका कारण क्षतिग्रस्त सडक सफाइ तथा मर्मत गरेपछि हिजो रातिदेखि यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको हो । आज बिहानदेखि काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा मात्र एकतर्फी यातायात सञ्चालन भइरहेको छ । उक्तबाहेक अन्य सडकखण्डमा भने दुईतर्फी यातायात सञ्चालनमा कुनै बाधा छैन ।

१५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा राजपत्रमा

काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाका १ गरी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय सरकारले गरेको थियो । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो । विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन् । यसैगरी धादिङको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका विपद् संकटग्रस्त घोषणा गरिएको छ भने तनहुँको देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका रहेका छन् । नेपाल–चीन सीमास्थित भोटेकोशी(ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका स्थानीय तहहरूमा ठूलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ । विपद् संटग्रस्त क्षेत्र घोषणा भएपछि ती क्षेत्रहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन कानुनी रूपमा सरकारलाई सहज हुनेछ ।