पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडक खण्डमा थुप्रिएको लेदो पन्छाएर शुक्रबार साँझदेखि सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ ।  पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा जम्मा भएको लेदो पन्छाएपछि पहिलो चरणमा अत्यावश्यक सवारीसाधनहरूलाई प्राथमिकताका साथ गन्तव्यतर्फ प्रस्थान गराइएको छ । राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका गाडीहरूलाई सडक खुलेसँगै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ ।  निरन्तरको प्रयासपछि लेदो हटाएर सडक सञ्चालनमा आएपछि रोकिएका यात्रु तथा सवारीसाधनहरूले राहत पाएका छन् । 

रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोसी नदीमा आएको भिषण बाढीले ठूलो क्षति पुर्‍याउँदा रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शुक्रबार एक जानकारी सार्वजनिक गर्दै दुवै जिल्लाका गरी कुल १३ वटा जलविद्युत् आयोजना बाढीबाट क्षतिग्रस्त भएको र त्यसमध्ये ११ वटा आयोजनाका जनशक्ति सम्पर्कविहीन बनेको पुष्टि गरेको छ । इप्पानका अनुसार बाढीका कारण सबैभन्दा बढी जनशक्ति रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा प्रभावित भएका छन्, जहाँ ५७६ जना सम्पर्कबाहिर छन् ।  यसैगरी रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, लाङटाङ खोलाका ४२ जना, चिलिमेका आठ जना, मेलुङ खोलाका सात जना र रसुवा-भोटेकोसी आयोजनाका चार जना पनि हालसम्म सम्पर्कमा आउन सकेका छैनन् ।  यता नुवाकोट जिल्लामा निर्माणाधीन र सञ्चालनमा रहेका ६ वटा आयोजनामध्ये पाँच वटाका २०४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।  जसमा माथिल्लो त्रिशूली-३ ‘बी’ का १५८ जना, माथिल्लो त्रिशूली-३ ‘ए’ का ४२ जना, मिडल त्रिशूली गंगाका दुई जना तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका एक/एक जना रहेका छन् ।  बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको र हालसम्म माथिल्लो त्रिशूली-१ का २५४ जनाको सकुशल उद्धार भइसकेको इप्पानले जनाएको छ ।  अन्य आयोजनाहरूमा पनि उद्धार टोली परिचालन गरी बाँकी व्यक्तिहरूको खोजी तथा उद्धारको पहल भइरहेको छ ।

एकैदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३८ करोड ५६ लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकैदिन झण्डै ३८ करोड ५६ लाख रुपैयाँ सहयोग जुटेको छ । विभिन्न २७ संस्था तथा व्यक्तिले कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ कोषमा योगदान गरेका हुन् । राहत सहयोगमा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाको उल्लेख्य सहभागिता देखिएको छ । कोषमा सूर्य नेपाल प्रालिले मात्रै १५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख रुपैयाँ योगदान गरेका छन् । यस्तै, हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख, एग्रो थाईफुड्सले १ करोड, एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गरेका छन् । व्यक्तिगततर्फ उद्योगी विजयकुमार शाहले १ करोड तथा राजी राणाले १ करोड ९ लाख ८० हजार रुपैयाँ राहत कोषमा योगदान गरेका छन् । पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले पनि १ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वक्र्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरले १–१ करोड रुपैयाँ योगदान गरेका छन् । यस्तै, नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र एबाकस इन्साइट्सले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्य संस्था तथा व्यक्तिबाट समेत थप सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।