नेपाल र संयुक्त राष्ट्र संघको साझेदारीका ७० वर्ष, प्रधानमन्त्रीले दोहोर्‍याइन् प्रतिबद्धता

काठमाडौं । नेपाल र संयुक्त राष्ट्रसंघबीचको साझेदारीका ७० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्रसंघप्रति नेपालको प्रतिबद्धता पुनःदोहोर्‍याएकी छन् ।  नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले शान्ति, विकास र मानव अधिकारका क्षेत्रमा संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसंघ विश्व शान्ति, दिगो विकास र मानवीय सहयोगका लागि महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै नेपालले सधैं संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तअनुसार काम गर्दै आएको बताएको रावलले जानकारी दिए ।  कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्तिलाई समर्थन गर्ने कार्यमा नेपाल विश्वकै अग्रणी योगदानकर्ता राष्ट्र बनेकोमा गर्व व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रधानमन्त्रीले आगामी फागुन २१ मा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनले २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट विकासशील हुने लक्ष्यतर्फ अग्रसर रहेको उल्लेख गरिन् ।  यस उपलब्धिलाई दिगो बनाउन लगानी, प्रविधि र संयुक्त राष्ट्रसंघसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपाल भविष्यमा पनि संयुक्त राष्ट्रसंघको विश्वसनीय साझेदार रहने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि ७ जनाको नाम सर्टलिस्ट, ८ गते अन्तर्वार्ता हुने

काठमाडौं । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्टार पदका लागि सात जनाको नाम सर्टलिस्ट गरिएको छ । विश्वविद्यालयको रजिष्टार छनोट तथा सिफारिस समितिको मंगलबार बसेको बैठकले आवेदनकर्तामध्ये ७ जनालाई अन्तिम चरणका लागि छनोट गरेको हो । सर्टलिस्टमा पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का खेमराज जोशी, बैतडीको पुर्चौडी नगरपालिका-१ का गोविन्दसिंह विष्ट, बझाङको छविसपाथिभरा गाउँपालिका-५ का डबलबहादुर धामी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१९ का डम्बरुप्रसाद पनेरु, धनगढी उपमहानगरपालिका-५ कैलालीका पदमराज जोशी, बैतडीको पाटन नगरपालिका-१ का भिमबहादुर चन्द तथा कैलालीको सहजपुर-७ बयालीका शिप्रसाद सापकोटा पनि सर्टलिस्टमा परेका छन् । सर्टलिस्टमा परेका सबै उम्मेदवारलाई पुस ८ गते मंगलबार बिहान ९ बजे शिक्षा मन्त्रालयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । आवश्यक कागजातसहित उपस्थित हुन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर गरिएको उक्त रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा पेशीका लागि परेको थियो । प्रारम्भिक सुनुवाइपछि अदालतले सरकार तथा सम्बन्धित पक्षसँग कारण देखाऊ आदेश जारी गरेको हो । रिट निवेदक घिमिरेले प्रतिनिधिसभा विघटन संविधानको मर्म र प्रावधानविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्रतिनिधिसभा विघटनले लोकतान्त्रिक प्रणाली र जनताको सार्वभौम अधिकारमाथि गम्भीर आघात पुर्‍याएको जिकिर गरेका छन् । कारण देखाऊ आदेश जारी भएसँगै अब सरकारलाई तोकिएको समयसीमाभित्र लिखित जवाफ पेश गर्नुपर्नेछ । त्यसपछि अदालतले विस्तृत सुनुवाइमार्फत रिटको अन्तिम टुंगो लगाउने प्रक्रिया अघि बढाउनेछ । उक्त रिटलाई प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका महत्त्वपूर्ण संवैधानिक मुद्दामध्ये एकका रूपमा हेरिएको छ ।