रगतको माग र आपूर्तिमा असन्तुलन

काठमाडौं । काठमाडौं उपत्यकामा रगतको अभावमा केही सुधार आए पनि रक्तसञ्चार सेवामा पर्याप्त मौज्दात कायम हुन सकेको छैन । चाडपर्वका बेला रक्तदान कार्यक्रम घट्नु, नियमित रक्तदाता उपत्यकाबाट बाहिरिनु र युवाहरूको विदेश पलायन बढ्दै जानुले रगतको माग र आपूर्तिबीचको असन्तुलन थप चुनौतीपूर्ण बनेको सरकोकारवालाहरु बताउँछन् । 

दैनिक करिब ४०० देखि ५०० युनिट रगत आवश्यक पर्ने उपत्यकामा रक्तदानबाट संकलन हुने रगतले तत्कालको माग धान्नुपर्ने अवस्था छ । दशैंका बेला उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिएपछि नियमित रक्तदान कार्यक्रम प्रभावित हुँदा रगतको अभाव चुलिएको थियो । 

पछिल्लो केही दिनयता रक्तदान कार्यक्रम सञ्चालन हुन थालेपछि अवस्था केही सहज बनेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. प्रकाश यादवले बताए । उनका अनुसार एक साताअघिको तुलनामा रगत आपूर्तिको अवस्थामा करिब ८० प्रतिशत सुधार आएको छ । तर, अहिले संकलन भइरहेको रगत पनि सोही दिन अस्पतालमा आपूर्ति हुने भएकाले पर्याप्त मौज्दात राख्न सकिएको छैन ।

यादवका अनुसार रगतको माग निरन्तर रहने तर रक्तदान कार्यक्रम नहुने अवस्था सिर्जना हुँदा बिरामीले आवश्यक रगत पाउन कठिन हुन्छ । विशेषगरी दुर्लभ रक्तसमूह, आरएच नेगेटिभ र एबी पोजेटिभ समूहको रगत व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ ।

त्यसैगरी रगतबाट तयार गरिने विभिन्न अवयवको उपयोग अवधि छोटो हुने भएकाले पनि नियमित रक्तदान आवश्यक रहेको उनी बताउँछन् । प्लेटलेट कन्सन्ट्रेट र पीआरपीजस्ता रक्त अवयवको उपयोग अवधि तीनदेखि पाँच दिनसम्म मात्रै हुने भएकाले दैनिकजसो रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । 

साना रक्तदान शिविरबाट समेत ५० देखि ६० युनिट रगत संकलन हुन सके आवश्यक रक्त अवयव नियमित रूपमा तयार गर्न सकिने उनले बताए ।

रक्तदानप्रति जनचेतना र नयाँ पुस्ताको सहभागितामा भने खासै समस्या नरहेको यादवको भनाइ छ । नियमित रक्तदातासँगै नयाँ पुस्ताका रक्तदाता पनि थपिँदै गएका छन् । तर, आफूले रक्तदान गरे पनि आवश्यक परेको समयमा आफैंले रगत नपाउने अवस्था हुँदा कतिपय दाता निरुत्साहित हुने गरेको उनले बताए ।

ब्लड डोनर एसोसिएसन नेपालका अध्यक्ष राजेश श्रेष्ठका अनुसार दशैंका बेला रगतको अभाव हुन नदिन संस्थाले आपत्कालीन रक्तदातालाई तयारी अवस्थामा राखेको थियो । अहिले तिहार र छठलाई लक्षित गरी विभिन्न रक्तदाता संस्थालाई परिचालन गर्ने काम भइरहेको छ ।

उनका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४०० देखि ५०० युनिट रगतको माग हुन्छ ।  तर, मागअनुसार नियमित रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा आपूर्तिमा समस्या देखिने गरेको छ । 

रक्तदानलाई नियमित र व्यवस्थित बनाउन सरकारले स्वयंसेवी रक्तदाता तथा रक्तदान अभियानमा सक्रिय संघसंस्थालाई परिचालन गर्न छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

श्रेष्ठले दशैंका बेला उपत्यका छाडेर बाहिरिने तथा रोजगारी र अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ्दा रक्तदाताको उपलब्धतामा समेत असर पर्ने गरेको बताए ।

विदेश जानुअघि कम्तीमा एकपटक रक्तदान गर्ने भावना युवामा विकास गर्नुपर्ने उनको सुझाव छ । यसका लागि विमानस्थलमै रक्तदान शिविर सञ्चालन गर्न सकिने उनले बताए ।

मागअनुसार रगत संकलन हुन सकेन

रक्तदान कार्यक्रम प्रभावित हुनु चाडपर्वमा मात्रै सीमित समस्या होइन । सामान्य अवस्थामा समेत रगतको मागअनुसार संकलन हुन नसकेको ब्लड फर नेपालका संस्थापक सरोजकुमार महतो बताउँछन् ।

उनका अनुसार एउटा ब्लड बैंकमा मासिक दुई हजारदेखि तीन हजार पिन्टसम्म रगतको माग हुने गरे पनि रक्तदान कार्यक्रमबाट १ हजार ५०० देखि दुई हजार पिन्टसम्म मात्रै संकलन हुने गरेको छ । बाँकी आवश्यकता स्वेच्छिक तथा स्वयंसेवी रक्तदाताको सहयोगबाट पूरा गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

विगतको तुलनामा रक्तदानप्रतिको जनचेतना र रक्तदाताको संख्या बढे पनि माग र आपूर्तिबीचको खाडल भने पूर्ण रूपमा मेटिन नसकेको महतोको भनाइ छ । दुई जना बिरामीलाई रगत आवश्यक पर्दा एक जनाले सहजै पाउने तर अर्कोलाई रगत जुटाउन कठिन हुने अवस्था अझै कायम रहेको उनले बताए ।

महतोका अनुसार सैद्धान्तिक रूपमा देशको कुल जनसंख्याको दुई प्रतिशतले नियमित रक्तदान गरे रगतको अभाव नहुने मान्यता छ । तर, नेपालमा नियमित रक्तदान गर्ने जनसंख्या करिब १.३ प्रतिशतको हाराहारीमा मात्रै रहेको उनको भनाई छ ।

विशेषगरी असोज, कात्तिक र मंसिर महिनामा रगतको अभाव बढी देखिने गरेको छ । दशैँ, तिहार र छठका बेला रक्तदान कार्यक्रम कम हुनुका साथै काठमाडौं उपत्यकामा स्थायी बसोबास नभएका मानिसहरू घर फर्किने भएकाले नियमित रक्तदाताको उपलब्धता घट्ने गरेको महतोले बताए । 

अर्कोतर्फ युवाहरूको विदेश पलायनले पनि रक्तदान गर्न सक्ने उमेर समूहको जनसंख्या घट्दै गएको उनको भनाइ छ ।

नियमित रक्तदान र सरकारी सहयोग आवश्यक

रगतको अभाव न्यूनीकरण गर्न रक्तदानलाई चाडपर्व वा विशेष परिस्थितिमा मात्रै सीमित नगरी नियमित अभियानका रूपमा सञ्चालन गर्नुपर्ने सरोकारवालाहरूको सुझाव छ । 

सरकारी निकाय, स्थानीय तह तथा शैक्षिक संस्थाहरूले नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने उनीहरूको भनाइ छ ।

महतोले रगत प्राप्त गर्दा लाग्ने सेवा शुल्क सरकारले व्यहोर्ने वा त्यसमा सहुलियत दिने व्यवस्था गर्नुपर्ने बताए । यसले सर्वसाधारणको विश्वास बढाउनुका साथै रक्तसञ्चार सेवामा सहज पहुँच स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

त्यस्तै, रक्तदान अभियानमा सक्रिय संघसंस्थालाई परिचालन गर्न सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने श्रेष्ठको सुझाव छ । रक्तदातालाई प्रोत्साहन गर्ने कार्यक्रमसँगै विदेश जाने युवालाई समेत रक्तदान अभियानमा जोड्न सकिने उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीअन्तर्गत उपत्यकामा हाल २७ वटा रक्तसञ्चार केन्द्र सञ्चालनमा छन् । चाडपर्वमा मात्रै होइन, सामान्य अवस्थामा समेत मागअनुसार रगत संकलन हुन नसकेको अवस्थाले रक्तदानलाई नियमित र व्यवस्थित बनाउनु आवश्यक देखिएको छ । 

रक्तदान कार्यक्रमको निरन्तरता, स्वयंसेवी रक्तदाताको परिचालन र सरकारी सहयोगबिना रगतको माग र आपूर्तिबीचको अन्तर हटाउन कठिन हुने सरोकारवालाहरूको भनाइ छ ।

Share News