रसुवागढी जलविद्युत केन्द्रमा फसेका ४ कर्मचारीको सकुशल उद्धार

काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ ।  प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेको हो । उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् ।  यसैबीच, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि आवश्यक तयारी अघि बढाइएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको जनाइएको छ । यता, बाढीबाट प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ ।  टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली आयोजनातर्फ पठाइएको छ । माथिल्लो  त्रिशुलि ३ ए (६० मेगावाट), जलविद्युत केन्द्रको मर्मतको क्रममा फसेका कर्मचारीहरूको पनि उद्धार सुरु भएको छ ।  उक्त अण्डरग्राउण्ड पावर हाउस भित्र जाने केबल टनेलको पुरिएको मुख खोल्न नेपाली सेना र दक्ष जनशक्ति सहित उत्खनन कार्यमा आवश्यक उपकरणहरू प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ। प्रतिकूल मौसमका कारण उद्धारमा केही ढिलाइ भए पनि जोखिममा रहेका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्रभावित जलविद्युत् आयोजनामा आवश्यक जनशक्ति, उपकरण तथा उद्धार सामग्री परिचालन गरी उद्धार अभियानलाई निरन्तरता दिइएको ऊर्जा मन्त्रालयले जनाएकाे छ ।

नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, रसुवामा शनिबारसम्म बिजुली बाल्ने तयारी

काठमाडौं । भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेका रसुवा र नुवाकोट क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तीव्र गतिमा विद्युत् पुनःस्थापनाको काम अघि बढाएको छ । बाढीले विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा ४३० मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले देशैभरको लोड व्यवस्थापन गर्न सफल भएको जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमध्ये नुवाकोटमा वैकल्पिक व्यवस्था मिलाएर बिहीबार दिउँसोसम्ममै करिब ९० प्रतिशत विद्युत् प्रवाह पुनःसञ्चालन भइसकेको छ । त्रिशूली पारिको क्षेत्रमा बाटो र पुल बगेर सञ्चार तथा पहुँच विच्छेद भए पनि धादिङको सल्यानटारबाट फिड गराएर बिजुली पुर्‍याइसकिएको प्राधिकरणले जनाएको छ ।  यसैबीच, पूर्ण रूपमा विद्युत्विहीन बनेको रसुवाको धुन्चे र आसपासका क्षेत्रमा भने शनिबारसम्म बिजुली बाल्ने लक्ष्यका साथ प्राधिकरणले प्राविधिक टोली खटाएर अनेक विकल्पमा अध्ययन थालेको बताएको छ ।  प्राधिकरणका अनुसार बेत्रावती क्षेत्र वरपर ५ देखि ७ वटा टावरहरू बगेकाले सडकमार्ग खुल्नेबित्तिकै ६६ केभीए लाइनमार्फत चिलिमे-त्रिशूली संरचना प्रयोग गर्ने पहिलो विकल्प राखिएको छ ।  यस्तै, साञ्जेन पावर हाउसलाई आइसोलेटेड मोडमा चलाएर हाकु क्षेत्रमा एयरलिफ्ट गरी १० वटा पोल जोड्ने वा नुवाकोटबाटै खोलाको किनारैकिनार एउटा फिडर रसुवातर्फ लैजाने अन्य विकल्पहरूमा पनि काम भइरहेको प्राधिकरणको भनाइ छ । शुक्रबार बिहानैदेखि प्राविधिक टोली गम्भीर अध्ययन र मर्मतमा खटिएकाले शनिबारसम्ममा रसुवामा पनि बिजुली पुनःस्थापना हुनेमा प्राधिकरण आशावादी छ ।

सय किलोको दुई वटा ड्रोनबाट सुरुङमार्गमा फसेका कामदारलाई हेर्दैछौः अध्यक्ष तामाङ

काठमाडौं । रसुवाको हाइड्रोपावर भित्रको सुरुङमा फसेका कामदारलाई निकाल्न दुई वटा ड्रोन प्रयोग गरिने भएको छ । सय किलोको ड्रोन प्रयोग सुरुङमार्गको कामदारलाई उद्धार गर्न लागिएको हो । गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सुरुङमार्गमा फसेका कामदारलाई उद्धार गर्न ड्रोन प्रयोग गर्न लागिएको जानकारी दिए । सुरुङबाट निकालेर हेलिकोप्टरबाट उद्धार गर्न लागिएको उनले बताए । सुरुङ भित्र फसेका कामदारको उद्धार कार्यमा पनि तीव्र रुपमा भइरहेको तामाङले बताए । हाइड्रोपावरको सुरुङमा फसेका कामदारलाई उद्धार गर्नुपर्ने मुख्य काम रहेको उनको भनाइ छ । ‘रसुवागढी हाइड्रोपावरमा फसेका कामदारलाई निकाल्न २ वटा ड्रोन प्रयोग गरिएको छ  । सय किलोको ड्रोन प्रयोग गरिएको छ,’ अध्यक्ष तामाङले भने,’ दुई वटा हाइड्रोपावरमा मानिस फसेका छन् । चाइनिज हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरमा कामदार फसेका छन् ।‘ त्यसैगरी, रसुवागढीमा ११ बजेर ५२ सेकेण्डमा पुगेर आएको बाढी सानो रहेको उनको दाबी छ । 'सचेत भएर सुरक्षित स्थानमा बस्नुपर्छ,’ उनले विकासन्युजसँग टेलिफोन संवादमा भने,’ अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन ।'