फागुन २१ भित्र जसरी भएपनि निर्वाचन गरिन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार सुशासन र निर्वाचनलाई दुई मुख्य प्राथमिकतामा राखेर केन्द्रित रूपमा काम गरिरहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते सम्पन्न जेन-जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको उल्लेख गरिन् ।  सोही सन्दर्भमा उनले आगामी फागुन २१ गतेभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अहोरात्र तयारीमा जुटिरहेको जानकारी दिए ।  ‘निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसैले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’ उहाँले संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा देशलाई सुरक्षित रूपमा अघि बढाउने एकमात्र विकल्प निर्वाचन नै भएको स्पष्ट पारिन् ।  प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि प्रकारको अराजकता स्वीकार्य नहुने भन्दै शान्ति भंग गर्ने, कानुन हातमा लिने तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन् ।  ‘खराब तत्वको प्रतिरोधमा समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,” उहाँले जोड दिँदै भनिन्, ‘आउनुहोस्, समाजमा शान्ति कायम गर्दै सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गरौं । ’ सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल बनाउन जेन-जी समूहको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरिन् । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सामूहिक प्रयासकै कारण ललितपुर महानगरपालिका आजको अवस्थामा आइपुगेको बताइन् । कार्यक्रममा ललितपुर महानगरपालिकालाई सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा रातो बङ्गला स्कुललाई सम्मान गरिएको थियो । जसले ७६ लाख रुपैयाँ योगदान गरेको छ । साथै समाजसेवामा योगदान पुर्‍याउँदै आएकी निराराज्य लक्ष्मी राणासहित विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको छ ।  

युके पठाउने नाममा ५२ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका-१५ घर भई हाल काठमाडौँ महानगरपालिका-१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै ५२ लाख रुपैयाँ रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए।  रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ । 

प्रतिनिधिसभा पुन: स्थापनासम्बन्धी कांग्रेसको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा पुन: स्थापनाको माग गर्दै नेपाली कांग्रेसले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।   सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित पूर्ण इजलासमा उक्त रिट पेशीका लागि तोकिएको हो । कांग्रेसले संविधानको मर्म र संसदीय व्यवस्थाको आधारभूत सिद्धान्तविपरीत प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । रिटमा प्रधानमन्त्रीको सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उल्लेख गर्दै तत्काल संसद् पुन: स्थापना गर्न माग गरिएको छ । कांग्रेसका तर्फबाट दायर रिटमा प्रतिनिधिसभा विघटनले जनताको सार्वभौम अधिकार कुण्ठित भएको, लोकतान्त्रिक अभ्यास कमजोर पारिएको तथा संविधानले सुनिश्चित गरेको शक्ति सन्तुलनमा गम्भीर असर परेको जिकिर गरिएको छ ।  साथै कार्यपालिका निरंकुश बन्ने खतरा बढेकाले अदालतले संवैधानिक अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने माग पनि रिटमा उल्लेख छ । यसअघि यस्तै प्रकृतिका मुद्दामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन: स्थापनाको फैसला गरिसकेको सन्दर्भ उल्लेख गर्दै कांग्रेसले अदालतबाट सकारात्मक निर्णयको अपेक्षा गरेको छ ।  सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिने वा थप सुनुवाइका लागि मिति तोक्ने सम्भावना रहेको छ ।