नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप अफवाहमात्र होः रेग्मी

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीको सन्दर्भमा चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताएका छन् । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले चीन र नेपालबीचको सुमधुर सम्बन्ध नै बिग्रने गरी ‘र्‍युमर’ फैलाइएको बताए । सांसद रेग्मीले प्राकृतिक रूपमा हिमालय क्षेत्रमा हुने हिमपहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने घटनाको ठ्याक्कै समय र स्थानबारे पूर्वसूचना दिन सम्भव हुने बताए ।  उनले निरन्तर निगरानी हुने सगरमाथा हिमालमा समेत पर्यटक र पथप्रदर्शकलाई जोगाउन नसकिएको उल्लेख गर्दै निगरानी नै नभएको हिमालयमा कुन ठाउँमा के घटना हुन्छ ? भन्ने सूचना प्रदान गर्न नसकिने बताए।  रेग्मीले बाढीका सम्बन्धमा चीनसँग पूर्वसूचना भएपनि नेपाललाई नदिएको भन्ने आरोप लगाएर दुई देशबीचको सुमधुर सम्बन्ध बिगार्न नहुने कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।  उनले सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना र अफवाह फैलाउने कार्य भइरहेको भन्दै जिम्मेवार बन्न समेत आग्रह गरे ।  उनले विगतमा नेपालमै भएका कयौं प्राकृतिक विपद्का घटनाको उदाहरण दिँदै यस्ता घटनामा पूर्वसूचना प्रदान गर्न सम्भव नहुने बताए ।  उनले हिमनदी, हिमताल र प्राकृतिक विपद्सम्बन्धी विषयमा जथाभावी टिप्पणी नगरी ग्ल्यासियोलोजी तथा सम्बन्धित विषयका विज्ञसँग मात्र धारणा लिनसमेत सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।

बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख सहयोग

काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार भदौ ११ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गरिएको थियो । त्यसमा थप ८० लाख रुपैयाँ सहयोग गर्ने निर्णयसँगै कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुगेको हो । कम्पनीका प्रतिनिधि राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले भदौ १२ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । हिमालयन बुलियन कम्पनीले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको कम्पनीले जनाएको छ । साथै, बाढीमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारको दुःखमा आफूहरू साथमा रहेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले प्राकृतिक विपद्को यस कठिन घडीमा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु आफ्नो सामाजिक र मानवीय दायित्व भएको जनाएको छ ।

रसुवा जोड्ने प्रमुख सडकखण्ड सञ्चालनमा

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध भएको रसुवा जोड्ने प्रमुख सडकखण्ड सञ्चालनमा आएको छ ।  टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु गरिएको हो । सडकखण्ड सुचारु भएसँगै लामो समयदेखि सडक सञ्जालबाट अलग भएको रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने भएको छ ।  साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतिकूल मौसम र बाढीपहिरोका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको थियो ।