६ रुग्ण ठेक्का तोड्न मन्त्री लम्सालको निर्देशन

काठमाडौं । स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सञ्चालनमा रहेका प्रगतिको सम्भावना नरहेका ६ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभागअन्तर्गतका आयोजना तथा कार्यक्रमको समीक्षा गर्दै यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार विभागअन्तर्गत हाल १९ वटा ठेक्का रुग्ण अवस्थामा छन्। तीमध्ये प्रगतिको सम्भावना नरहेका ६ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने निर्णय भएको हो । 

मन्त्री लम्सालका अनुसार मन्त्रालयको निरन्तर निगरानी र सहजीकरणपछि ६ वटा आयोजना सम्पन्न भएका छन् भने थप ५ वटा आयोजनाको निर्माण कार्यसमेत अघि बढेको छ ।

बुधबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागबाट सञ्चालित आयोजना तथा कार्यक्रमहरूको समीक्षा गरिएको थियो । समीक्षा क्रममा स्थानीय पूर्वाधार निर्माणसम्बन्धी कार्ययोजना संशोधन गरी आयोजना तथा कार्यक्रमको कार्यान्वयनलाई थप गति दिन आवश्यक निर्देशनसमेत दिइएको मन्त्री लम्सालले बताएका छन् ।

अलपत्र र रुग्ण अवस्थामा रहेका ठेक्काहरूको गहिरो अध्ययन तथा समीक्षा गरी काम अघि बढ्न नसक्ने आयोजनाको ठेक्का अन्त्य गर्ने र सम्भावना भएका आयोजनालाई निर्माणमा फर्काउने मन्त्रालयको प्रयास रहेको उनको भनाइ छ ।

Share News