काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले म्याग्दीमा सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ ।
कम्पनीका अनुसार गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण आयोजना बन्द भएको थियो ।
बाढीले नेपाल विद्युत् प्राधिकरणको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावरहरूमा क्षति पुर्याएको थियो । त्यसपछि आयोजनाबाट उत्पादित विद्युत् प्रसारण हुन नसक्दा आयोजना बन्द भएको थियो ।
क्षतिग्रस्त प्रसारण लाइनका टावरहरूको मर्मत तथा सम्भारपछि असोज ३१ गते रातिदेखि आयोजना पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै आयोजनाको विद्युत् उत्पादन पुनः सुरु भएको जानकारी दिएको हो ।