काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारका गतिविधिले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
बुधबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले पत्रकारहरू आफ्नो असन्तुष्टि र असहमति सार्वजनिक गर्नसमेत असुरक्षित महसुस गरिरहेको हो कि भन्ने आशंका व्यक्त गरे ।
पत्रकार सम्मेलनमा समाचार संकलनका लागि पुगेका पत्रकारहरूको हातमा कालोपट्टी नदेखेपछि उनले उनीहरूको सुरक्षाबारे प्रश्न उठाएका थिए ।
प्रतिपक्षी दलको कार्यालयमै आएर समाचार संकलन गरिरहेका पत्रकारहरूले समेत सरकारप्रतिको असन्तुष्टि संकेत गर्ने गरी कालोपट्टी बाँधेको आफूले अपेक्षा गरेको उनको भनाइ थियो ।
‘प्रतिपक्षीकै कार्यालयमा आएर बुम अगाडि तेर्साउँदै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो,’ शर्माले भने ।
उनले पत्रकारहरूले सरकारका गतिविधिप्रति असहमति राख्ने र आफ्ना समस्या निर्भीक रूपमा अभिव्यक्त गर्ने वातावरण हुनुपर्नेमा जोड दिए ।
पत्रकारले सिंहदरबारदेखि बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै सामुन्ने पनि आफ्नो असन्तुष्टि र आलोचना राख्न सक्ने अवस्था लोकतन्त्रमा आवश्यक रहेको उनको भनाइ थियो ।
पत्रकारको हातमा कालोपट्टी नदेखिएको प्रसंगलाई जोड्दै शर्माले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सुरक्षाबारे नैतिक प्रश्नसमेत उठाए ।
‘मैले तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?,’ उनले पत्रकारहरूलाई प्रश्न गरे ।