‘हाम्रो खरिद प्रक्रिया पारदर्शी छ’- नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको खरिद प्रक्रियालाई लिएर हालै विभिन्न सञ्चार माध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण गराउँदै ती समाचारहरू भ्रमपूर्ण र अस्पष्ट रहेको स्पष्ट पारेको छ । 

कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो प्रतिष्ठा, जनविश्वास र आम ग्राहकको भरोसालाई ध्यानमा राखेर प्रचलित ऐन-कानून तथा सुशासनका मान्यता अनुरूप पारदर्शी रूपमा कार्य गरिरहेको जनाएको छ ।

टेलिकमका अनुसार कम्पनीको उपकरण तथा सेवा खरिद गर्दा कम्पनीको आफ्नै आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिद सम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको ‘स्ट्यान्डर्ड बिड डकुमेन्ट’का आधारमा मात्र आवश्यक खरिद प्रक्रिया अघि बढाउने गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘​​​​​​​सवा सय वर्ष पुरानो ऐतिहासिक पृष्ठभूमि बोकेको नेपाल टेलिकमले देशका विकट स्थानसम्म सस्तो, गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा पुर्याउँदै आएको छ । नयाँ प्रविधि अवलम्बन, गुणस्तरीय सेवाको उपलब्धता र नेपाल सरकारको नीतिगत लक्ष्य प्राप्तिमा कम्पनी सधैं प्रतिबद्ध छ ।’

साथै, कम्पनीका खरिद प्रक्रिया लगायतका विषयमा कुनै पनि सूचना वा आधिकारिक विवरण आवश्यक परेमा कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सह-प्रवक्ता तथा सूचना र प्रकाशन शाखाबाट सहजै उपलब्ध हुने टेलिकमले जनाएको छ । 

आधिकारिक निकायबाट सत्यतथ्य नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै नेपाल टेलिकमले कम्पनीको प्रतिष्ठा, विकास र संस्थागत हितमा सकारात्मक सहयोग पुर्याउन सञ्चार माध्यमहरूसँग अपेक्षा व्यक्त गरेको छ ।

Share News