आईजीपी डा. केसीको ४ विषयमा जोड

सरुवा-बढुवादेखि राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने धारणा

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले संगठनभित्र तल्लो तहका प्रहरी कर्मचारीले भोग्दै आएका समस्या र गुनासा सम्बोधन गर्न छुट्टै संयन्त्र स्थापना गर्ने बताएका छन् ।

गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिह्न प्रदान कार्यक्रममा फुली लगाएपछि सम्बोधन गर्दै उनले कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीका समस्या सुन्न आईजीपीको सचिवालयमा संयन्त्र बनाइने जानकारी दिए ।

उनका अनुसार प्रहरी संगठनलाई प्रभावकारी बनाउन तल्लो तहका कर्मचारीका समस्या बुझ्ने र तिनको समाधान गर्ने व्यवस्था आवश्यक छ । यसका लागि तत्कालै संयन्त्र सञ्चालनमा ल्याइने उनले बताए ।

केसीले प्रहरीप्रति नागरिकको धारणा बदल्नुपर्नेमा पनि जोड दिए । नागरिकले प्रहरी देख्दा त्रसित हुने नभई सुरक्षित र विश्वस्त महसुस गर्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।

प्रहरी संगठनले पछिल्लो समय भ्रामक सूचना, डीपफेक प्रविधिको दुरुपयोग, अनलाइन ठगी, क्रिप्टोकरेन्सी तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीजस्ता नयाँ प्रकृतिका चुनौती सामना गरिरहेको उनले बताए ।

प्रहरी र नागरिकबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विगतका घटनाबाट बल प्रयोगको विषयमा समेत महत्त्वपूर्ण पाठ सिक्नुपर्ने बताए ।

संगठनभित्र सरुवा र बढुवालाई व्यवस्थित, पारदर्शी तथा प्रणालीमा आधारित बनाउनुपर्ने उनको भनाइ छ । प्रहरी कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने विषयमा पनि आफूले प्राथमिकता दिने उनले स्पष्ट पारे ।

‘जुनियरदेखि सिनियर तहसम्मका प्रहरी कर्मचारीलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने ।

प्रहरी संगठन राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिँदै केसीले यसका लागि सबै पक्षको सहयोग अपेक्षा गरेका छन् । प्रहरी सेवा विभिन्न पक्षसँग जोडिने भए पनि संगठनको व्यावसायिकता र निष्पक्षता कायम राख्नुपर्ने उनको धारणा छ ।

उनले संविधान र कानुनप्रतिको प्रतिबद्धतामा कुनै सम्झौता नगर्ने तथा नेपाल प्रहरीको संस्थागत मर्यादा र निष्पक्षता जोगाएर अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

Share News