भोटेकोशी बाढीमा निधन हुनेको संख्या १५७ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १५७ जनाको निधन भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु भएकामध्ये ३४ जना महिला, ६३ जना पुरुष, ६ जना बालिका र ७ जना बालक छन् । थप ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव फेला परेको छ । नुवाकोटमा ६ महिला र ७ पुरुष गरी १३ जनाको शव भेटिएको छ । त्यसैगरी, धादिङमा १० महिला, १० पुरुष, १ बालिका र पहिचान नखुलेका ६ जना गरी २७ जनाको शव फेला परेको छ । गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनासहित १९ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । चितवनमा सबैभन्दा बढी ६४ जनाको शव फेला परेको छ। तीमध्ये १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जना छन् । यस्तै, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १जनासहित ९ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, तीन बालिका, १ बालक र पहिचान नखुलेका ४ जनासहित २२ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

नेपाली सेनाले रातभर जारी राख्नेछ उद्धार र खोज, बिहीबार बिहान टिमुरेबाट हवाई उद्धार गरिने

काठमाडौं । नेपाली सेनाले बुधबार रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ ।  बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो ।  आज रातभर ११ एक्स टिमबाट जमिनबाटै उद्धार जारी रहने छ । साथै भोलि बिहान टिमुरे माथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न टनेलमा अड्किएका व्यक्तिहरुको उद्धारको प्रयास पनि जारी रहने छ ।  नेपाली सेनाले उद्धारका लागि थप समन्वय साथ हवाई साधनहरुको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरुबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ साथ विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरु तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्नेछ ।  आज दिनभर एक हजार १६९७ परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । सेनाका अनुसार आज दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ । साथै जमिनबाट २७ जनाको उद्धार गरिएको छ ।  आज ८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरहरुबाट खाना तथा पानी उपलब्ध गराई राखिएको थियो ।

नर्भिक अस्पताल पुगेर अर्थमन्त्रीले लिए घाइते र उद्धार गरिएकाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका क्रममा उद्धार गरिएका घाइतेहरूको काठमाडौंस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालमा रसुवागढी भन्सार कार्यालयका नायब सुब्बाद्वय धर्मराज शाही र तिलक पराजुलीको सघन उपचार जारी छ ।  यसैगरी, उनीहरूसँगै उद्धार गरी ल्याइएका जलविद्युत् आयोजना (हाइड्रोपावर) का कर्मचारी धनबहादुर थापा मगर पनि सोही अस्पतालमा उपचाररत छन् ।  यसैबिच, अर्थमन्त्रीले नर्भिक अस्पताल पुगेर उपचाररत नासुद्वय शाही र पराजुलीका साथै हाइड्रोपावरका कर्मचारी थापा मगरलाई भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  भेटका क्रममा अर्थमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।