काठमाडौं । सडक र पुलको अभावमा कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन नसक्दा किसानले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउने र बजारसम्म पुर्याउनसमेत कठिनाइ हुने समस्याले कृषकको मेहनत खेर जाने गरेको छ ।
यस्तै, समस्याबाट पीडित गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग आफ्नो समस्या राखेका छन् । मतदाता भेटघाटका क्रममा गोरखाको गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसँग स्थानीयले पुलको अभावका कारण कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको गुनासो गरेका हुन् ।
स्थानीयका अनुसार यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेका तरकारी समयमै बजारसम्म पुर्याउन कठिन हुने गरेको छ । जसका कारण तरकारीले उचित मूल्य नपाउने र कतिपय अवस्थामा बिक्री हुन नसक्दा बारीमै कुहिएर जाने अवस्था रहेको उनीहरूले बताएका छन् ।
कृषकले दिनरात मेहनत गरेर उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन नसक्नु र उत्पादनको उचित मूल्य नपाउनु आफूहरूका लागि ठूलो समस्या बनेको स्थानीयको गुनासो छ । पुलको अभावले कृषि उत्पादनको बिक्री वितरणमा मात्र नभई स्थानीयको दैनिक आवागमन र समग्र आर्थिक गतिविधिमा समेत असर परेको उनीहरूले बताएका छन् ।
स्थानीयका समस्या र गुनासा सुनेका गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । पुल निर्माणको प्रक्रिया अगाडि बढेकाले अबको केही समयमै स्थानीयले भोग्दै आएको समस्या समाधान हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
पक्की पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज हुनुका साथै कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ । यसबाट कृषकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न र कृषि पेसालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
वर्षौंदेखि पुलको अभावका कारण विभिन्न समस्या भोग्दै आएका स्थानीयले पक्की पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारीसँगै आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन् ।