काठमाडौं । कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन मकवानपुुरले जारी गरेको सूचनाअनुुार शनिबार साँझ ४ बजेसम्म कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह १ हजार ५२९ मिटर पुगेको छ । निरन्तर वर्षाका कारण जलाशयको सतह बढिरहेको र आज राति वा भोलिसम्म अप्रत्याशित भारी वर्षा भए जलाशयको सुरक्षा तथा जलसतह सन्तुलन कायम राख्न बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्ने प्रशासनले जनाएको छ ।
प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले शनिबार रातिको समयमा नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा सम्भावित बाढी र पहिरोको जोखिमप्रति सचेत रहन अनुरोध गरेको छ । सम्भावित विपद्बाट मानवीय तथा भौतिक क्षति हुन नदिन यस्तो सतर्कता अपनाउन आग्रह गरिएको हो ।