काठमाडौं । चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आगामी आइतबार कात्तिक १५ गते न्युरोड मलको पहिलो तलामा नयाँ आउटलेट उद्घाटन गर्ने तयारी गरेको हो ।
साढे दुई दशकभन्दा बढी समयदेखि शुद्ध चाँदीको कारोबार गर्दै आएको कम्पनीले हालसम्म ज्ञानेश्वरस्थित आउटलेटबाट मात्रै सेवा दिँदै आएको थियो । व्यवसाय विस्तारसँगै ग्राहकलाई थप सहज सेवा उपलब्ध गराउने उद्देश्यले न्युरोडमा आउटलेट सञ्चालन गर्न लागिएको कम्पनीका सञ्चालक भीष्म गौतमले जानकारी दिए ।
उनका अनुसार न्युरोड मलको पहिलो तलामा आउटलेट सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको छ। कम्पनीले आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत आउटलेट विस्तार गर्ने योजना बनाएको छ।
नयाँ आउटलेटबाट ग्राहकले चाँदीका बार तथा सिक्का प्रत्यक्ष अवलोकन गरेर खरिद गर्न सक्नेछन्। साथै, कम्पनीको मोबाइल एपमार्फत खरिद गरेको चाँदीसमेत उक्त आउटलेटबाट संकलन गर्न सकिनेछ।
कम्पनीले चाँदीको कारोबारलाई सहज र पारदर्शी बनाउने उद्देश्यले घटस्थापनाको दिन आफ्नो मोबाइल एप ‘एचबीसी एप’ सार्वजनिक गरेको थियो। एपमार्फत ग्राहकले आफूअनुकूल चाँदीका सिक्का तथा बार खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
एपमा खाता खोली ग्राहक पहिचान (केवाईसी) प्रक्रिया पूरा गरेपछि ग्राहकले दैनिक चाँदीको मूल्य हेर्न र खरिदको लक्ष्य निर्धारण गर्न सक्छन्। एपमार्फत १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
यसैगरी, कम्पनीले एप प्रयोगकर्तालाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र हिमालयन बुलियनबीचको सहकार्यमा उपलब्ध हुने उक्त सुविधा बीमालेखका सर्त तथा प्रावधानअनुसार लागू हुनेछ।
कम्पनीका अनुसार एपमार्फत चाँदी खरिद गरेको पटकका आधारमा ग्राहकलाई स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ। जसअनुसार स्ट्यान्डर्ड ग्राहकले एक लाख, गोल्डेन ग्राहकले पाँच लाख र प्लाटिनम ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्।
एचबीसी एप भौतिक चाँदी खरिद गर्ने माध्यम रहेको कम्पनीले स्पष्ट पारेको छ। एपमार्फत बुक गरेको चाँदीको सम्पूर्ण रकम भुक्तानी गरेपछि ग्राहकले कम्पनीको आउटलेटबाट संकलन गर्न सक्नेछन्। कम्पनीका अनुसार खरिद गरेको चाँदी तीन दिनपछि कम्पनीले प्रकाशित गरेको पुनः खरिद मूल्यमा हिमालयन बुलियनलाई नै बिक्री गर्न सकिनेछ।
कम्पनीबाट उत्पादित चाँदीका सिक्का तथा बार प्रमाणिकताको प्रमाणपत्र र बिलसहित उपलब्ध हुनेछन्। ती उत्पादनमा ९९.९९ प्रतिशत शुद्धता रहेको कम्पनीको दाबी छ। कम्पनीले चाँदीका उत्पादन तयार गर्न दुबई र हङकङबाट चाँदीका ग्रान्युल्स आयात गर्दै आएको जनाएको छ।