काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकारहरूमाथि भएको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेशको विषयलाई गम्भीरतापूर्वक लिँदै त्यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ ।
रास्वपा सचिवालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका सभापति रवि लामिछानेले संविधान र प्रजातन्त्रभन्दा माथि कोही पनि नरहेको बताए ।
उनले भने, ‘संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो कोही छैन । आँच आउने क्रियाकलाप जसले गरे पनि सजायको भागीदार हुनुपर्छ । संविधानलाई नै बेवास्ता गर्ने किसिमले जोसुकै संलग्न भए पनि म होऊँ वा अर्कै कोही कारबाहीको भागीदार हुनुपर्छ । ’
त्यस्तै, पार्टीका प्रवक्ता जगदीश खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा सधैँ दृढ रहेको र यसमाथि कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।
‘पत्रकार तथा सञ्चारकर्मीहरूलाई पक्राउ गर्ने काम किन, कसरी र कसको निर्देशनमा भयो, त्यसको सूक्ष्म छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि परिणाममुखी कारबाही गर्न सरकारलाई निर्देशन दिइएको छ,’ प्रवक्ता खरेलले भने ।
उनले पत्रकारहरू कुनै दल वा सरकारको नभई राज्यको चौथो अंग भएको उल्लेख गर्दै चौथो अंगमाथिको यस्तो धरपकड रास्वपालाई कदापि मान्य नहुने बताए ।