रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षति, उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।  रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।  बैठकमा भोटेकोशी बाढीले पुर्‍याएको क्षति, बेपत्ताहरूको खोजी, प्रभावितहरूको तत्काल उद्धार, राहत सामग्री वितरण र दीर्घकालीन पुनस्र्थापनाका विषयमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच छलफल हुनेछ ।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, विभिन्‍न जिल्लामा फेला परे शव

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । बाढीपछि विभिन्‍न जिल्लाका नदी किनारमा प्रहरी तथा उद्धार टोलीले खोजतलास गर्दा हालसम्म २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र पहिचान नखुलेका २० जना गरी कुल ९५ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । प्रहरीको अद्यावधिक तथ्याङ्क अनुसार बाढीको बहावले बगाएर ल्याएका शवहरू विभिन्‍न जिल्लामा भेटिएका छन् । जसमध्ये रसुवामा १ पुरुष, नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जना तथा धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जना गरी १८ जनाको शव फेला परेको छ ।  यसैगरी, गोरखामा १ महिला, ४ पुरुष, १ बालक र पहिचान नखुलेका १० जना गरी १६ जना तथा चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जना गरी ३३ जनाको शव भेटिएको छ । यस्तै, तनहुँमा ३ पुरुष, १ बालिका र १ बालक गरी ५ जना तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ पुरुष र ३ बालिका गरी ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।  प्रभावित क्षेत्रहरूसहित तटीय इलाकामा अझै पनि बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी रहेको छ ।

उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपतिको प्रधानमन्त्रीलाई निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नागरिकको खोज, उद्धार र राहत कार्यमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी बाढीबाट भएको क्षति र उद्धारका प्रयासबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार तथा राहतलाई तीव्रता दिन निर्देशन दिएका हुन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कुराकानीका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई विस्तृत गराएका थिए । सो क्रममा प्रधानमन्त्री शाहले विपद्मा परेका नागरिकलाई सहयोग पुर्‍याउन, उद्धार गर्न र राहत वितरणका लागि सरकारका तर्फबाट हरसम्भव प्रयास गरिने र राज्यका सबै संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन भइसकेको आश्वस्त पारेका थिए । यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात आएको बाढीले पुर्‍याएको ठूलो क्षतिप्रति गहरा दुःख व्यक्त गरेका थिए । विपद्को यस कठिन समयमा उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न उनले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकहरूसँग आह्वान गरे । राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिएका थिए । उनले पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले विपद्मा परेकालाई सहयोग, उद्धार राहतका लागि राज्यका सबै सयन्त्र परिचालन गरी हरसम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने बताएका थिए । यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात गएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका थिए । उनले विपद्को यस घडीमा उद्धार र राहतलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका थिए ।