मिठाईको लेबलमा उत्पादनदेखि मूल्यसम्मको विवरण अनिवार्य गर्न विभागको निर्देशन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिक्रीका लागि राखिएका मिठाईमा उत्पादनसम्बन्धी सम्पूर्ण विवरण स्पष्ट रूपमा उल्लेख गर्न मिठाई व्यवसायीलाई निर्देशन दिएको छ । विभागले मिठाई व्यवसायीका नाममा सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईको सोकेस वा काउन्टरमा ग्राहकले देख्ने गरी लेबल राख्न निर्देशन दिएको हो । निर्देशनअनुसार मिठाईको नाम, मुख्य कच्चा पदार्थको सम्मिश्रण, तयार गर्न प्रयोग गरिएको तेल वा घिउको प्रकार तथा नाम, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य स्पष्ट उल्लेख गर्नुपर्नेछ । विभागले यसअघि २०८३ असोज ३० गते मिठाई व्यवसायीका लागि सूचना जारी गरेको थियो । उक्त सूचनाको कार्यान्वयनका लागि पुनः जानकारी गराउँदै होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायतका व्यवसायीलाई निर्देशन पालना गर्न निर्देशन गरिएको हो । विभाग तथा मातहतका कार्यालयबाट नियमित निरीक्षण तथा अनुगमनका क्रममा निर्देशन कार्यान्वयन नभएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ । उपभोक्ताले आफूले खरिद गर्ने मिठाईमा प्रयोग भएका सामग्री, तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्यबारे जानकारी पाउने व्यवस्था गर्न विभागले यस्तो निर्देशन दिएको हो ।
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसम क्रमिक रूपमा सुधार हुने
काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ । हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, आज राति पनि देशभर आंशिक बादल लाग्ने पूर्वानुमान छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रेस हस्तक्षेपको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन, न्यायालय शुद्धीकरणको मुद्दा संसद्मा लग्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले सञ्चारगृहमा भएको प्रहरी हस्तक्षेप, न्यायपालिकासम्बन्धी विवाद, मधेस प्रदेशको संगठन सुदृढीकरण तथा चीन भ्रमणलगायतका विषयमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले लोकतान्त्रिक प्रणाली, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्टीले कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दै २०८३ कात्तिक १३ गते प्रहरी प्रशासनमार्फत सञ्चार क्षेत्रमा भएका गतिविधिहरू संविधान र दलको आदर्शविपरीत रहेको ठहर गरेको छ । सो घटनामा गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न रास्वपाले सरकारलाई निर्देशन दिएको छ । यस्तै, कतिपय न्यायाधीशहरूसमेत मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाहरूले न्यायपालिकाको निष्पक्षता र गरिमामाथि प्रश्न उठाएको भन्दै बैठकले न्यायालयको शुद्धीकरणका लागि संसद्बाटै निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशित गरेको छ । यसैगरी, मधेस प्रदेशमा पार्टी संगठनलाई सुदृढ बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले पेस गरेको ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ का सिफारिसहरूलाई आवश्यकताका आधारमा प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ । साथै, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल कात्तिक अन्तिम साता चीन भ्रमणमा जाने निर्णयसमेत बैठकले गरेको छ ।