काठमाडौं । पाकिस्तानी गायक अतिफ अस्लमको आगामी ‘अतिफ अस्लम लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ पार्टनरका रूपमा ‘खल्ती बाइ आइएमई’ आबद्ध भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना गीतमार्फत सांगीतिक प्रस्तुति दिनेछन् ।
‘ताजदार-ए-हरम’, ‘तेरे बिन’, र ‘दिल दियाँ गल्लाँ’ जस्ता गीतका गायक अस्लमलाई हेर्न नेपालसहित भारत तथा अन्य दक्षिण एसियाली देशहरूबाट समेत उल्लेख्य दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
यस सहकार्यमार्फत दर्शकहरूले खल्ती एप प्रयोग गरी सहज, सुरक्षित र सुविधाजनक तरिकाले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन् ।
खल्तीका चिफ अपरेटिङ अफिसर पुष्पराज न्यौपानेले नेपालमा सांगीतिक कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दै गएको अवस्थामा अतिफ अस्लमजस्ता अन्तराष्ट्रिय कलाकारको कन्सर्टसँग जोडिन पाउँदा उत्साहित भएको बताए ।
उनले यसबाट दर्शकलाई टिकट खरिदमा सहजता र पारदर्शिता मिल्नुका साथै नेपालको मनोरञ्जन क्षेत्रलाई डिजिटल रूपान्तरण गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।