‘पैसाको बलमा पार्टी किन्ने प्रयास भयो, तर सिद्धान्त साट्न सकिँदैन’- शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आधिकारिकता पैसाको प्रभावमा टुंग्याइएको जिकिर गरेका हुन् ।

शनिबार काठमाडौंमा कांग्रेस संस्थापनइतर समूहको जिल्ला अधिवेशनमा उनले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्कोको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे । उनले निर्वाचन आयोगमा भएको निर्णय प्रक्रियालाई अस्वाभाविक भन्दै आर्थिक चलखेलमार्फत पार्टीको आधिकारिकता प्रभावित पारिएको आरोप लगाए । उनले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गरे ।

देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताए । ‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्,’ उनले भने,  ‘यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ । पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ ।’

उनले आफूले अब पार्टी र देशका निम्ति योगदान गर्ने समय आएको बताए । ‘मैले जीवनमा धेरै कुरा पाइसकेको छु, अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ,’ उनले भने,  ‘यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो ।’

देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वास समेत व्यक्त गरे । ‘मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौं,’ उनले भने, ‘अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ ।’

Share News