सरकारले सुरु गर्‍यो ‘तिहार विशेष रैथाने मेला’, देशैभर विस्तार गर्ने योजना

काठमाडौं । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित सरकारले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ ।

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत आजदेखि काठमाडौंको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा तीनदिने मेला सुरु भएको छ । 

रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षणका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा मेला आयोजना गरिएको हो । 

मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवं स्थानीय उत्पादकले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि स्टल राखेका छन् । 

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली, कृषि उपजलगायत स्वदेशी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

स्थानीय उत्पादनको पहिचान, प्रवद्र्धन र बजारीकरणका माध्यमबाट कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउने सरकारको लक्ष्य छ ।

साथै, आगामी दिनमा पनि साताको दुई दिन सार्वजनिक बिदाको समय उपयोग गर्दै सप्ताहान्तमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ । 

सरकारले यही अभ्यास र मोडेललाई देशका ७७ वटै जिल्लामा विस्तार गर्दै अघि बढाउने योजना बनाएको छ ।

Share News