रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ।

काठमाडौं । लामो समयदेखि निर्माण अलपत्र रहेका रौतहटका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । 

पटक–पटक म्याद थप्दा पनि काम पूरा नभएपछि सरकारले दुईवटा पुल र एउटा सडक आयोजनाको ठेक्का अन्त्य गरेको हो ।

ठेक्का तोडिएका आयोजनामा चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गतको लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजना रहेका छन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यी आयोजनाको ठेक्का तोडेर बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाउने निर्णय भएको जानकारी दिएका छन् ।

मन्त्री लम्सालका अनुसार लमाहा र लौकाहा खोला पुल निर्माणको काम विगत १० वर्षदेखि अलपत्र थियो। दुवै पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु र शिवशंकर जेभीसँग सम्झौता भएको थियो । 

सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै पुल निर्माण सक्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेन ।

अन्तिम पटक २०८० असार ३० गतेसम्म म्याद थप गरिएको भए पनि निर्माण सम्पन्न नभएपछि दुवै पुलको ठेक्का तोडिएको हो । पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका छन् ।

त्यस्तै, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति तथा पुनर्स्थापनाको ठेक्का पनि अन्त्य गरिएको छ । गत आर्थिक वर्षभित्रै काम सक्नुपर्ने भए पनि आयोजनाको भौतिक प्रगति शून्य देखिएपछि ठेक्का तोड्ने निर्णय गरिएको मन्त्री लम्सालले बताएका छन् ।

सडक डिभिजन चन्द्रनिगाहपुरले पनि तीनवटै ठेक्का सम्झौता अन्त्य गरिएको भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

मन्त्री लम्सालले देशभर अलपत्र अवस्थामा रहेका पूर्वाधार आयोजनाको काम अघि बढाउन सरकार कडा रूपमा प्रस्तुत हुने बताएका छन् । उनका अनुसार निर्माण सम्पन्न गर्न सकिने आधार भएका आयोजनालाई अन्तिम मौका दिइनेछ । त्यसपछि पनि काम अघि नबढे ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण पूरा गरिने उनले बताए ।

लामो समयसम्म आयोजना अलपत्र पर्दा नागरिकले सास्ती भोग्नुपरेको भन्दै सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको उनको भनाइ छ ।

Share News