उत्पादन छ, बजारमा माग छैन

लगानीको वातावरण बनाउन सरकार गम्भीर बनोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजारमा माग बढ्न नसक्दा उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको र निजी क्षेत्रको लगानी तथा व्यवसायीको मनोबल खस्किँदै गएको बताएका छन् । ११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले बजारमा माग संकुचित हुँदा उद्योगी व्यवसायीले उत्पादन क्षमता हुँदाहुँदै पनि त्यसको उपयोग गर्न नसकेको बताए ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य स्रोत उपलब्ध भए पनि बजारमा माग नहुँदा लगानी विस्तार हुन नसकेको उनको भनाइ छ । उनले पछिल्लो समय सरकारले सुशासन र नीतिगत सुधारका लागि प्रयास गरिरहेको उल्लेख गर्दै अर्थतन्त्रलाई गति दिन ऐन, कानुन तथा नीतिगत व्यवस्थामा थप सुधार आवश्यक रहेको बताए । 

null

महासंघले तत्काल १६ वटा ऐन संशोधन गर्नुपर्ने माग गर्दै आएको र ती ऐन संशोधन भएमा थप ४२ वटा ऐनमा सुधारको बाटो खुल्ने उनको भनाइ छ । अर्थमन्त्रीले हालैको एक कार्यक्रममा १६७ वटा ऐन संशोधन गर्ने तयारीबारे जानकारी गराएको उल्लेख गर्दै श्रेष्ठले निजी क्षेत्रले उठाएका नीतिगत विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । 

उनले कोरोना महामारी, बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्ले पनि उद्योग व्यवसायमा थप समस्या सिर्जना गरेको बताए । विशेषगरी सिन्धुपाल्चोक, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक तथा कोशी करिडोरलगायतका क्षेत्रमा आएको बाढीपहिरोले मानवीय क्षतिसँगै सडक तथा व्यापारिक संरचनामा ठूलो क्षति पुर्याएको उनको भनाइ छ ।

विपद्का कारण प्रभावित क्षेत्रका व्यवसायी मात्रै नभई ती क्षेत्रसँग व्यापारिक कारोबार गर्ने अन्य जिल्लाका व्यवसायीसमेत प्रभावित भएको उनले बताए । प्रभावित क्षेत्रमा उधारोमा भएको कारोबारसमेत उठ्न नसक्दा व्यवसायीलाई थप आर्थिक भार परेको श्रेष्ठको भनाइ छ ।

‘बैंकमा वित्तीय स्रोत उपलब्ध छ, ऊर्जाको अवस्था पनि पहिलेभन्दा सुधार भएको छ। उत्पादन बढाउन सक्ने अवस्था छ । तर बजारमा माग नै छैन,’ उनले भने, ‘माग बढ्न नसक्दा उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । त्यसैले बजार चलायमान बनाउन सरकारले काम गर्नुपर्छ ।’

श्रेष्ठले सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्नेमा पनि जोड दिए । विनियोजित बजेटको तुलनामा पूर्वाधार क्षेत्रमा वास्तविक खर्च तथा लगानी कम भइरहेको उल्लेख गर्दै उनले सरकारले पुँजीगत खर्च बढाएर बजारमा पैसा प्रवाह गर्नुपर्ने बताए । पूर्वाधार क्षेत्रमा लगानी बढ्दा रोजगारी सिर्जना हुने, आम्दानी बढ्ने र त्यसले बजारमा माग विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

युवाको विदेश पलायनले पनि आन्तरिक बजारको माग घटाएको अध्यक्ष श्रेष्ठले बताए । बजारमा माग बढाउने, लगानीको वातावरण निर्माण गर्ने र निजी क्षेत्रको मनोबल उकास्ने काममा सरकार गम्भीर हुनुपर्ने उनको आग्रह छ । उनले निजी क्षेत्र लगानी गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले राजनीतिक तथा नीतिगत स्थिरता, सुरक्षा, पूर्वाधार र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए । निजी क्षेत्रको लगानी विस्तारका लागि सरकार र महासंघबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले सुस्ताएको अर्थतन्त्रमा व्यावसायिक गतिविधि बढाउने, लगानी आकर्षित गर्ने र नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले ११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागिएको बताए । उनका अनुसार मेलामा २०० भन्दा बढी स्टल रहनेछन् । नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायतका देशको सहभागिताका लागि छलफल भइरहेको छ । मेलामा करिब एक लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता सहभागी हुने अपेक्षा महासंघले गरेको छ ।

मेलाले उत्पादक, क्रेता, विक्रेता, आयातकर्ता र निर्यातकर्ताबीच प्रत्यक्ष सम्पर्क तथा कारोबारको अवसर सिर्जना गर्ने श्रेष्ठले बताए । यसबाट नयाँ व्यापारिक सम्बन्ध स्थापित हुनुका साथै नेपालको व्यापार विविधीकरण र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने उनको विश्वास छ । उनले मेलालाई केवल वस्तु प्रदर्शन गर्ने स्थलका रूपमा नभई दीर्घकालीन व्यापारिक सम्बन्ध र व्यवसायिक साझेदारी निर्माण गर्ने माध्यमका रूपमा विकास गर्न खोजिएको बताए ।

मेलामा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइने उनले जानकारी दिए । नेपाल पेभिलियनमार्फत हस्तकला, कृषि, जडीबुटी, कलेज तथा तयारी पोसाकलगायत नेपाली उत्पादनको प्रदर्शनी गरिनेछ । विदेशी अवलोकनकर्ता तथा व्यवसायीलाई नेपाली उत्पादनसँग परिचित गराएर निर्यातका लागि व्यापारिक सम्बन्ध विस्तार गर्ने महासंघको योजना छ ।

नेपाली उत्पादनको निर्यात सम्भावना हुँदाहुँदै पनि गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ र उत्पादनको परिमाण बढाउनुपर्ने चुनौती रहेको श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपाली उत्पादनको गुणस्तर सुधारसँगै ठूलो परिमाणमा उत्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले उत्पादन गरिरहेका छौं, निर्यात पनि गरिरहेका छौँ। तर गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ र उत्पादनको स्केल बढाउन आवश्यक छ,’ उनले भन । 

साना तथा महिला उद्यमीलाई प्राथमिकता

अध्यक्ष श्रेष्ठले व्यापार मेलामा महिला, युवा, साना तथा घरेलु उद्यमीका उत्पादनलाई विशेष प्राथमिकता दिइने बताए ।  विभिन्न जिल्ला तथा स्थानीय तहमा उत्पादित उत्कृष्ट वस्तुलाई मेलामा प्रदर्शनीका लागि स्थान उपलब्ध गराउने महासंघको योजना रहेको उनले जानकारी दिए ।

दुर्गम जिल्लामा उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघमार्फत सहजीकरण गरिने उनले बताए । स्थानीय उत्पादनको पहिचान, बजारको आवश्यकता अध्ययन तथा उत्पादन क्षमता अभिवृद्धिका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने महासंघको योजना रहेको छ ।

null

महासंघले स्थानीय तहमा रहेका उद्योग वाणिज्य संघका इकाइलाई थप व्यवस्थित गर्दै स्थानीय सरकारसँग सहकार्य विस्तार गर्न खोजेको पनि श्रेष्ठले बताए। स्थानीय तहमा उपलब्ध स्रोत, महासंघको विज्ञता र बजारसम्बन्धी ज्ञानलाई एकीकृत गरेर उत्पादनलाई बजारसँग जोड्ने उनको भनाइ छ । उनले औद्योगिक ग्राम, पूर्वाधार विकास तथा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा परियोजना सञ्चालन गर्ने विषयमा पनि सरकारसँग छलफल भइरहेको जानकारी दिए ।

विभिन्न मुलुकसँग व्यापारिक साझेदारी विस्तार गर्ने तयारी

महासंघले अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि विभिन्न मुलुकसँग संयुक्त व्यापार मञ्च (ज्वाइन्ट बिजनेस फोरम) गठन गर्ने तयारी गरेको पनि श्रेष्ठले बताए । उनका अनुसार नेपाल र चीनबीच व्यापारिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । यसबाट दुई देशबीच व्यापार, लगानी तथा व्यावसायिक साझेदारीका सम्भावना पहिचान गर्ने लक्ष्य राखिएको छ ।

महासंघले अन्य मुलुकसँग पनि संयुक्त व्यापार मञ्च गठन गरी कुन नेपाली उत्पादन कुन देशमा निर्यात गर्न सकिन्छ र ती मुलुकबाट नेपालमा के आयात गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा छलफल अघि बढाउने जनाएको छ । अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा केही मुलुकसँग संयुक्त व्यापार मञ्च गठन गर्ने काम अघि बढाइने श्रेष्ठले बताए ।

विद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र अन्य सम्भावित क्षेत्रमा विदेशी लगानी तथा प्रविधि आकर्षित गर्ने विषयलाई पनि महासंघले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा निजी क्षेत्र र सरकारले आवश्यक तयारी गर्नुपर्ने श्रेष्ठले बताए । नेपालको स्तरोन्नतिको तयारीका लागि महासंघले तीन वर्षको समय थप गर्न माग गरेको र सरकारले संयुक्त राष्ट्रसंघसमक्ष अनुरोध गरेर तीन वर्ष समय थप गर्ने पहल गरेको उल्लेख गर्दै उनले त्यसका लागि सरकारप्रति आभार व्यक्त गरे । 

तर स्तरोन्नतिपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले पाउने सुविधा तथा प्रतिस्पर्धात्मक क्षमतामा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यसका लागि पूर्वाधार, नीतिगत व्यवस्था, उत्पादन क्षमता, क्वारेन्टाइन तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी मापदण्डमा आवश्यक तयारी गर्नुपर्ने उनले बताए । श्रेष्ठले निजी क्षेत्रले पनि आफ्नो उत्पादन क्षमता र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने तर त्यसका लागि सरकारले पूर्वाधार, नीतिगत सहजीकरण र क्षमता विकासमा नेतृत्व लिनुपर्ने बताए ।

अन्त्यमा उनले नेपालको आयात निर्भरता घटाउन स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिए । नेपालले करिब ७० प्रतिशत वस्तु विदेशबाट आयात गरेर उपभोग गर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादनको प्रवद्र्धन र उपभोग बढाउनुपर्ने बताए ।

सरकारले स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिने नीति अघि सारेकोमा स्वागत गर्दै उनले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । ‘हामीले विदेशबाट कति आयात गर्छौं भन्ने कुरा मात्रै गरेर हुँदैन । आयात निर्भरता घटाउन स्वदेशी उत्पादन बढाउनुपर्छ र त्यसलाई प्रवद्र्धन गर्नुपर्छ,’ श्रेष्ठले भने । 

Share News