काठमाडौं । पृथ्वी राजमार्ग सोमबार (भोलि) ३ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, धादिङले आइतबार सूचना जारी गर्दै भोलि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जनाएको हो ।
प्रशासनका अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएपछि सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ, चितवनको सूचनाका आधारमा सडक बन्द गर्न लागिएको हो ।
निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्धारित समयका लागि सवारी आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ ।
दिउँसो २ बजेपछि भने सडकमा सवारी आवागमन खुल्ने जनाइएको छ ।
