बाँकेको अम्बे स्टिलमा आगलागी, ८ जना घाइते

फाइल तस्बिर ।

काठमाडौं । बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी भएको हो ।

आइतबार (आज) बिहान फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट भएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  

प्रहरीका अनुसार बिहान पौने ५ बजे दुर्घटना भएको हो ।

आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना कामदार रहेका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ४ जना डिस्चार्ज भइसकेका छन् । 

घाइतेहरूमध्ये दुई जनालाई भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य बाँकीको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ ।

Share News