काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ तथा होक्काइडो ग्रुपको सातौं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा जापानी फुड फेस्टिभल आयोजना भइरहेको छ । होक्काइडो ग्रुप र रेडिसन काठमाडौंको सहकार्यमा लाजिम्पाटस्थित होक्काइडो एसियन कुजिनमा नोभेम्बर ३ देखि ९ सम्म सञ्चालन भइरहेको यस फेस्टिभलले जापानी खानाको परम्परा, पाककला र सांस्कृतिक अभ्यासलाई नेपाली आगन्तुकमाझ प्रस्तुत गरेको छ ।
साँझ ५ देखि ८ बजेसम्म सञ्चालन हुने फेस्टिभलमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ (कर तथा सफ्ट ड्रिंकसहित) शुल्क निर्धारण गरी डिनर बुफे तथा अनलिमिटेड सुसीको व्यवस्था गरिएको छ भने सहज व्यवस्थापनका लागि दैनिक सहभागिता ७० जनामा सीमित गरिएको छ ।
फेस्टिभलमा जापानका सुसी कलाकार काजुयुकी हायाशीको प्रत्यक्ष पाककला प्रस्तुति रहेको छ । जसले आगन्तुककै अगाडि सुसी तयार पारेर जापानी पाक शैली र परम्पराको अनुभव गराइरहेका छन् । फेस्टिभलमा निगिरी सुसी, होसोमाकी रोल, तेप्पान्याकीलगायत नौ फरक विधाका करिब ४८ परिकारहरू समावेश छन् ।
खानाका साथै जापानी क्यालिग्राफी र परम्परागत माचा चिया बनाउने विधि प्रदर्शनसमेत गरिएको छ । सन् २०१९ मा अर्जुन अधिकारीले पार्क भिलेज रिसोर्टबाट सुरु गरेको होक्काइडो ग्रुपले हाल काठमाडौं उपत्यका, पोखरा र चितवन गरी १० वटा रेस्टुरेन्ट तथा आउटलेटमार्फत जापानी खानाको पहिचान र आतिथ्य सेवा विस्तार गरिरहेको छ ।