पोखरा १३ का अध्यक्ष बरालले बाँकी समयको पारिश्रमिक नलिने, बाढी राहत कोषमा जम्मा गर्ने

काठमाडौं । पोखरा महानगरपालिका १३ का अध्यक्ष किरण बरालले बाँकी कार्यावधिको पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले बुधबार रसुवामा गएको बाढीले धनजनको क्षति गरेकाले सरकारको राहत कोषमा पारिश्रमिक जम्मा गरिदिने र बाँकी कार्यकाल समयको मासिक तलब नलिने घोषणा गरेका हुन् । बरालले प्रभावित र पीडित परिवारलाई तत्काल राहत तथा सहयोगको आवश्यकता रहेको भन्दै आजदेखि प्राप्त हुने आफ्नो मासिक पारिश्रमिक सरकारी राहत कोषमा योगदान गर्ने निर्णय गरेको बताएका हुन्।  उनले आफ्नो सानो योगदान विपद्मा परेका तथा वास्तविक रूपमा राहतको आवश्यकता भएका नागरिकसम्म पुग्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। ‘जनप्रतिनिधिको पद केवल सेवा, सुविधा र अधिकारका लागि मात्र होइन, जनताको दुःखमा साथ दिन र आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि पनि हो,’ अध्यक्ष बरालले भनेका छन्।  बरालले विपद्को कठिन घडीमा सम्पूर्ण नेपालीलाई एकजुट भएर पीडित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न अपिलसमेत गरेका छन्। ‘मेरो सानो योगदान विपद्मा परेका नागरिकका लागि ठूलो आशा बन्न सकोस्,’ उनले भनेका छन्।  बराल २०७९ जेठको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकको रसुवास्थित टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ। माछापुच्छ्रे बैंकका अनुसार टिमुरे बजार नै बाढीले बगाएपछि शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उक्त शाखामा ६ जना कर्मचारी कार्यरत थिए । बैंकका अनुसार ६ जनामध्ये एक जना कर्मचारीसँग मात्रै सम्पर्क भएको छ । उनी भागेर सुरक्षित हुन सफल भएका हुन् । बाँकी ४ जना कर्मचारी र एक जना सुरक्षाकर्मीसँग भने अझै सम्पर्क हुन सकेको छैन । सम्पर्क विहीन कर्मचारी तथा सुरक्षाकर्मीको खोजी कार्य जारी रहेको बैंकले जनाएको छ । यसैगरी, बैंकको नुवाकोटस्थित बट्टार शाखामा भने बाढीको कुनै असर नपरेको बैंकले जनाएको छ ।

बाढीसँगै हाइड्रोपावरका ड्याम फुट्दा रसुवामा ठूलो क्षति, एकै गाउँका १८ जना बेपत्ता

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।  बाढीसँगै माथिल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका ड्यामसमेत फुट्दा क्षति थप भयावह बनेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उत्तरगया गाउँपालिकाका प्रवक्ता टुकु प्रसाद सुवेदीका अनुसार बाढी आउँदा स्थानीयवासीलाई पूर्वसूचना दिइए पनि बाढीको वास्तविक आकार र तीव्रताको अनुमान गर्न नसक्दा ठूलो क्षति भएको हो । ‘त्यतिबेला यहाँ घाम लागिरहेको थियो । माथिबाट बाढी आउँदैछ भन्ने खबर आयो । हामीले सबैलाई खबर ग‍र्यौं, तर यति ठूलो बाढी आउँछ भन्ने अनुमान थिएन,’ सुवेदीले भने, ‘बाढीसँगै वरपर रहेका हाइड्रोपावरका ड्याम फुटेपछि खोलाकिनारका मानिसले भाग्ने ठाउँसमेत पाएनन् । उनीहरूलाई खोलाले बगायो ।’ उनका अनुसार उत्तरगया गाउँपालिकाका पाँच वडा बाढीबाट अत्यधिक प्रभावित भएका छन् ।  एक वडाको एउटा गाउँमा मात्रै १८ जना बेपत्ता भएको विवरण प्राप्त भएको उनले बताए । ‘एउटा गाउँमा मात्रै १८ जना बेपत्ता भएको पाइएको छ । उद्धारका लागि रेडक्रस र नेपाली सेना खटिनुभएको छ,’ उनले भने, ‘पुलहरू सबै बगाएका छन् । फोनसमेत लागिरहेको छैन । त्यसैले थप कति मानिस प्रभावित भए भन्ने यकिन गर्न सकिएको छैन ।’ बाढीले सडक, पुल तथा सञ्चार संरचनामा समेत ठूलो क्षति पु‍र्याएकाले प्रभावित क्षेत्रमा उद्धार र क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ । यसैबीच, जल तथा मौसम विज्ञान विभागले चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार रसुवाको माथिल्लो क्षेत्रमा रहेको ठूलो पानीको ड्याम अझै पूर्ण रूपमा नखुलेको जनाएको छ ।  ड्याम पूर्ण रूपमा नखुलेका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम कायमै रहेको विभागले जनाएको छ । विभागले अर्को सूचना जारी नभएसम्म तटीय क्षेत्रका बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई उच्च सतर्कता अपनाउन तथा नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।