चार महिनामा बजेट खर्च २३ प्रतिशत, पुँजीगत खर्च ७.५२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना सकिन लाग्दा सरकारको बजेट खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको २३.११ प्रतिशत खर्च गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो खर्च २२.१२ प्रतिशत थियो ।

चालु आर्थिक वर्षमा सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा कात्तिक २२ गतेसम्म ४ खर्ब ९० अर्ब ९८ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ४ खर्ब ३४ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ खर्च भएको थियो ।

यस वर्ष बजेटको आकार अघिल्लो वर्षको तुलनामा ८.१६ प्रतिशतले बढेको छ । खर्चको रकम पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५६ अर्ब ६६ करोड रुपैयाँले बढी हो । तर खर्चको प्रगति भने ०.९९ प्रतिशत विन्दुले मात्रै बढेको छ ।

खर्चको अवस्था हेर्दा चालु खर्चमा सबैभन्दा बढी रकम खर्च भएको छ । सरकारले चालु शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँमध्ये ३ खर्ब ४६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ ।

यो कुल विनियोजनको २७.२५ प्रतिशत हो । अघिल्लो वर्ष सोही अवधिमा चालु खर्च २४.८३ प्रतिशत थियो । त्यसबेला ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा २ खर्ब ९३ अर्ब २२ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो ।

पुँजीगत खर्चको अवस्था भने अझै कमजोर देखिएको छ । चालु आर्थिक वर्षमा पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा कात्तिक २२ गतेसम्म ३२ अर्ब ४३ करोड ४० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल विनियोजनको ७.५२ प्रतिशत हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च ५.७८ प्रतिशत मात्रै थियो । त्यसबेला ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएकोमा २३ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ खर्च भएको थियो । यस वर्ष पुँजीगत खर्चको प्रगति १.७४ प्रतिशत विन्दुले बढे पनि विनियोजित बजेटको १० प्रतिशतसमेत खर्च हुन सकेको छैन ।

यस्तै, वित्तीय व्यवस्थातर्फ चालु आर्थिक वर्षमा ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन भएकोमा १ खर्ब १२ अर्ब ३४ करोड १ लाख रुपैयाँ खर्च भएको छ ।

यो विनियोजनको २६.५८ प्रतिशत हो । अघिल्लो वर्ष सोही अवधिमा वित्तीय व्यवस्थातर्फ ३१.३४ प्रतिशत खर्च भएको थियो । त्यसबेला ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा १ खर्ब १७ अर्ब ५८ करोड ४० लाख रुपैयाँ खर्च भएको थियो । यस वर्ष यो शीर्षकको खर्च ५ अर्ब २४ करोड रुपैयाँले घटेको छ ।

राजस्व संकलनमा २७ प्रतिशतको वृद्धि

बजेट खर्चको तुलनामा सरकारको राजश्व संकलनमा भने उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको कात्तिक २२ गतेसम्म सरकारले ३ खर्ब ६६ अर्ब २४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो वार्षिक राजस्व लक्ष्यको २३.१८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ८७ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसबेला वार्षिक लक्ष्यको १९.४३ प्रतिशत मात्रै राजश्व उठेको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व संकलन ७८ अर्ब ६८ करोड १६ लाख रुपैयाँले बढेको छ । रकमका आधारमा राजस्व संकलनमा करिब २७.३६ प्रतिशत वृद्धि भएको हो । राजस्व संकलनको प्रगति पनि अघिल्लो वर्षको तुलनामा ३.७५ प्रतिशत बिन्दुले बढेको छ ।

कुल राजस्वमध्ये कर राजस्वको योगदान सबैभन्दा ठूलो छ । चालु आर्थिक वर्षमा कर राजस्वतर्फ १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ लक्ष्य राखिएकोमा कात्तिक २२ गतेसम्म ३ खर्ब ४४ अर्ब ४५ करोड ९ लाख रुपैयाँ संकलन भएको छ ।

यो लक्ष्यको २४.५५ प्रतिशत हो । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ६९ अर्ब ८३ करोड १० लाख रुपैयाँ कर राजस्व संकलन भएको थियो । यस वर्ष कर राजस्व मात्रै ७४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँले बढेको छ ।

गैरकर राजस्वतर्फ भने अपेक्षाकृत कमजोर संकलन देखिएको छ । यस शिर्षकमा १ खर्ब ७७ अर्ब रुपैयाँ लक्ष्य राखिएकोमा हालसम्म २१ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।

यो लक्ष्यको १२.३१ प्रतिशत हो । अघिल्लो वर्ष सोही अवधिमा १७ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो ।

अनुदान प्राप्तिमा पनि सुधार आएको छ । चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएकोमा कात्तिक २२ गतेसम्म ८ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ प्राप्त भएको छ । यो लक्ष्यको १४.०८ प्रतिशत हो । अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ मात्रै अनुदान प्राप्त भएको थियो ।

सरकारको कुल प्राप्ति अर्थात राजस्व, अनुदान र अन्य प्राप्ति जोड्दा चालु आर्थिक वर्षको कात्तिक २२ गतेसम्म ३ खर्ब ७७ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा यस्तो प्राप्ति २ खर्ब ९३ अर्ब ३९ करोड ९ लाख रुपैयाँ थियो । यसरी कुल प्राप्तिमा करिब २८.७१ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षमा राजस्व, अनुदान र अन्य प्राप्तिसहित कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

अघिल्लो वर्ष यस्तो लक्ष्य १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ थियो । कुल प्राप्तिको लक्ष्यमा यस वर्ष २३ प्रतिशत प्रगति भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो प्रगति १९.१३ प्रतिशत मात्रै थियो । 

Share News