कहाँबाट सुरु भयो पटाका पड्काउने चलन ? यस्तो छ इतिहास

काठमाडाै ।  दिपावली अर्थात् उज्यालोको पर्व । घर, आँगन र मन्दिरमा दियो बालेर अन्धकारमाथि प्रकाशको विजयको उत्सव मनाउने परम्परा प्राचीन समयदेखि चल्दै आएको छ । तर आज दिवाली भन्नेबित्तिकै धेरैको सम्झनामा दियोसँगै पटाका पनि आउँछन् । 

आकाशमा चम्किने रङ्गीचङ्गी प्रकाश र पटाकाको आवाजलाई कतिपयले उत्सवको अभिन्न हिस्सा मान्छन् , तर के पटाका सुरुदेखि नै दिवालीको परम्परामा जोडिएका थिए त ? वास्तवमा पटाका र दिवालीको मौलिक परम्परा होइनन् । यसको इतिहास चीनसँग जोडिन्छ ।  पटाकाको सुरुवात चीनबाट भएको मानिन्छ । बेलायतको हर्निम्यान म्युजियम एन्ड गार्डेनमा प्रकाशित ‘वेयर डु फायरवक्र्स कम फ्रम ?’ शीर्षकको लेखअनुसार करिब दुई हजार वर्षअघि चीनमा मानिसहरूले बाँसका खोक्रा टुक्रा आगोमा हाल्ने गर्थे । आगोमा परेपछि ती बाँसका टुक्रा ठूलो आवाजका साथ पड्किन्थे । त्यतिबेला यस्तो आवाजले दुष्ट आत्मा र नकारात्मक शक्तिलाई भगाउँछ भन्ने धार्मिक विश्वास थियो ।

पछि नवौँ शताब्दीतिर चिनियाँ रसायनविद्हरूले बारुद (गनपाउडर) पत्ता लगाए । शोरा, गन्धक र कोइलाको मिश्रणबाट तयार पारिएको बारुदलाई सुरुमा बाँसका नली र पछि कागजका नलीमा भरेर पड्काउन थालियो । यसैबाट आधुनिक पटाकाबमे विकास भएको मानिन्छ ।

चीनमा धार्मिक विश्वाससँग जोडिएर सुरु भएको यस्तो अभ्यास क्रमशः धार्मिक समारोह, चाडपर्व र राजकीय उत्सवमा प्रयोग हुन थाल्यो । व्यापारिक मार्ग हुँदै पटका विश्वका विभिन्न मुलुकमा फैलियो ।

नेपालमा तिहार वा अन्य उत्सवहरूमा पट्का  पड्काउने प्रचलन कहिलेदेखि ठ्याक्कै सुरु भयो भन्ने कुराको कुनै स्पष्ट वा प्रामाणिक लिखित इतिहास उपलब्ध छैन । तर, इतिहासकार र संस्कृतिविद्हरूका अनुसार नेपालमा अहिले प्रयोग हुने रासायनिक र आधुनिक औद्योगिक पट्काहरू (जस्तैः झिरझिरे, रकेट, बम आदि) मुख्यतया भारतबाट आयात हुन थालेपछि (विगत केही दशक अघिदेखि मात्र) व्यापक बनेका हुन् । यो परम्परागत नेपाली संस्कृतिको अङ्ग नभई बजार र व्यापारको विस्तारसँगै भित्रिएको आधुनिक प्रभाव हो । 

मनोरञ्जनदेखि जनावरलाई तालिम दिनेसम्म

पटाकाको प्रयोग त्यतिबेला मनोरञ्जन र उत्सवमा मात्रै सीमित थिएन । यसलाई जनावरलाई तालिम दिनसमेत प्रयोग गरिन्थ्यो ।

१७औँ शताब्दीमा दिल्ली र आगरा भ्रमण गरेका फ्रान्सेली यात्री फ्रान्स्वा बर्नियरले आफ्नो यात्रावृत्तान्तमा पटाका र चक्रिको प्रयोग हात्तीजस्ता ठूला जनावरलाई तालिम दिन गरिने गरेको उल्लेख गरेका छन् । पटकाको तेज प्रकाश र ठूलो आवाजबाट जनावर डराएर भाग्ने भएकाले त्यसलाई प्रशिक्षणको एउटा उपायका रूपमा प्रयोग गरिन्थ्यो । पटकाको चमक र आवाज मुगल शासकहरूका लागि पनि आकर्षणको विषय बन्यो । उनीहरूले विवाह, राजकीय समारोह र विभिन्न उत्सवमा यसको भव्य प्रदर्शन गर्न थाले  । त्यसबेला आतिशबाजी प्रदर्शन गर्नु शक्ति, सम्पन्नता र शानको प्रतीकसमेत मानिन्थ्यो । 

सन् १६३३ को एउटा चित्रमा मुगल राजकुमार दारा शिकोहको विवाहमा गरिएको पटकाको दृश्य देखाइएको छ । त्यस्तै, बीजापुरका सुल्तान इब्राहिम आदिल शाहले सन् १६०९ तिर आफ्ना दरबारीकी छोरीको विवाहमा आतिशबाजीका लागि मात्रै ८० हजार रुपैयाँ खर्च गरेको इतिहासमा उल्लेख  । 

तिहारसँग कसरी जोडिए पटाका ?

इतिहासकार पीके गोडेका अनुसार दिवालीमा आतिशबाजी प्रयोग भएको प्रारम्भिक लिखित प्रमाण मध्य १८औँ शताब्दी अर्थात् पेशवा कालमा भेटिन्छ ।

त्यतिबेला राजस्थानको कोटा क्षेत्रमा दिवालीका चार दिनसम्म लाखौँ दियो बाल्ने गरिन्थ्यो। यसका साथै सहरबाहिर ठूलो स्तरमा आतिशबाजी प्रदर्शन गरिन्थ्यो । उक्त प्रदर्शनलाई ‘लंकापटाखा’ अर्थात् आतिशबाजीको लंका भनिन्थ्यो । यसमा रावण, राक्षस र हनुमानका आकृति बारुदको प्रयोग गरेर बनाइन्थ्यो । हनुमानको पुच्छरमा आगो लगाएर लंका दहनको दृश्यसमेत प्रदर्शन गरिन्थ्यो । यसरी रामायणको कथालाई आतिशबाजीमार्फत प्रस्तुत गर्ने चलनले दिवालीको उत्सवलाई थप आकर्षक बनाएको थियो ।

कोटामा हुने यस्तो आतिशबाजी प्रदर्शनको चर्चा सुनेपछि पेशवा सवाई माधवरावले पनि पुणेमा त्यस्तै कार्यक्रम आयोजना गर्न आदेश दिएका थिए । त्यसपछि क्रमशः दिवालीमा पटका र पटाका प्रदर्शन गर्ने चलन विस्तार हुँदै गएको इतिहासकारहरूको अध्ययनमा उल्लेख छ ।

सुरुवाती समयमा पटाका निकै महँगा हुने भएकाले सर्वसाधारणको पहुँचमा थिएनन् । त्यसैले पटका मुख्यतः राजा, शासक र धनी वर्गको उत्सवमा सीमित थियो । 

उद्योगको विकाससँगै सर्वसाधारणको पहुँचमा पटाका
समयसँगै पटाका उत्पादन र व्यापार विस्तार हुँदै गयो । भारतमा १९औँ शताब्दीमा कोलकातामा पहिलो पटाका कारखाना स्थापना भएको उल्लेख पाइन्छ । त्यसपछि यसको उत्पादन र बजार विस्तार हुँदै गयो । 

उत्पादन बढेसँगै पटाकाको मूल्य र उपलब्धतामा पनि परिवर्तन आयो। पहिले विशेष वर्गको मनोरञ्जन मानिने आतिशबाजी क्रमशः सर्वसाधारणको पहुँचमा पुग्यो। अहिले तिहारमा बालबालिकादेखि युवासम्मले विभिन्न प्रकारका पटाका पड्काउने गरेका छन्। यसरी कुनै समय राजसी वैभव र शानको प्रतीक रहेको पटकाअहिले आम मानिसको उत्सव संस्कृतिको हिस्सा बनेको छ।


 

Share News