अविरल वर्षाले काठमाडौंसहित देशभरको जनजीवन प्रभावित, बाढीपहिरोको जोखिम उच्च

काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सडक आवागमन, हवाई उडान तथा नागरिकका दैनिक कामकाजमा बाधा पुर्‍याएको छ भने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा वृद्धि भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहँदा प्रमुख नदीहरू वाग्मती, विष्णुमती, धोबीखोला र मनोहरालगायतको जलसतह बढेको छ । नदी तटीय क्षेत्र तथा होचा बस्तीहरूमा पानी पस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । उपत्यकाका मुख्य सडकहरूमा पानी जम्दा यातायात व्यवस्था प्रभावित बनेको छ । उपत्यकाबाहिर पनि अविरल वर्षाका कारण पहाडी भेगमा पहिरो र तराईका क्षेत्रमा डुबानको खतरा बढेको छ । राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा पहिरो खस्ने सम्भावना रहेकाले लामो दूरीका यात्रुहरूलाई मौसमको पूर्वजानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक प्रहरीले सूचित गरेको छ । यस्तै, खराब मौसमका कारण विभिन्न आन्तरिक उडानसमेत प्रभावित भएका छन् । नागरिकहरूलाई नदी किनार तथा पहिरोग्रस्त क्षेत्र आसपास नजान र सतर्कता अपनाउन अपिल गरिएको छ । 

पत्रकार पक्राउ प्रकरणमा विश्वप्रकाशको प्रश्न– निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणमा सरकारसँग जवाफ मागेका छन् । पक्राउ परेका पत्रकार छुटिसके पनि उनीहरूलाई किन पक्राउ गरियो, कसको निर्देशनमा पक्राउ गरिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले पत्रकार पक्राउको विषयलाई सामान्य घटनाका रूपमा लिन नहुने बताएका छन् । उनले पत्रकार पक्राउ परेपछि छुटिसकेको भन्दैमा विषय सकिएको नहुने उल्लेख गरेका छन् । ‘यस्तो किन गरियो, निर्देशन कसको थियो र जिम्मेवारी कसले लिने ?’ भन्दै उनले यसबारे जवाफ आवश्यक रहेको बताएका छन् । केही महिनाअघि सञ्चारगृहअगाडि मोटर राखेर आतंक सिर्जना गर्ने व्यक्तिहरूको पहिचान गरी सरकारले सार्वजनिक गर्न नचाहेको आरोप पनि उनले लगाएका छन् । अहिले भने सञ्चारगृहमै प्रवेश गरेर पत्रकार पक्राउ गर्दा प्रधानमन्त्री कार्यालयले गिरफ्तारीमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएको उनको भनाइ छ । प्रधानमन्त्री कार्यालय संलग्न थियो वा थिएन भन्नेभन्दा पनि प्रेसमाथि यस्ता गतिविधि हुँदा सरकारले जिम्मेवारी लिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने मुख्य प्रश्न रहेको शर्माले बताएका छन् । सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको बताएको विषयलाई सकारात्मक रूपमा लिँदै उनले त्यसपछि सरकारको जिम्मेवारी के हुने भन्ने प्रश्नसमेत उठाएका छन् । उनले सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेख गरिएको प्रेस स्वतन्त्रताको प्रतिबद्धता सरकारले समर्थन मात्रै गर्ने हो कि त्यसको रक्षा पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् । गैरकानुनी गिरफ्तारी भएको बताउँदैमा सरकार बनाउने दलको दायित्व पूरा नहुने उनको भनाइ छ । शर्माले आफूहरू स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको स्पष्ट पारेका छन् । गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित विधि र प्रक्रिया रहेको उल्लेख गर्दै उनले त्यसैको अनुसरण गर्न आग्रह गरेका छन् । संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने गतिविधि रोक्नुपर्नेमा जोड दिँदै शर्माले पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । 

प्रधानमन्त्री कार्यालयको चासोः मिडिया ‘हाउस’ र पत्रकारमाथि प्रहरीको धरपकड

काठमाडौं । प्रधानमन्त्री कार्यालयले चासो राखेपछि नेपाल प्रहरीले मिडिया हाउस र पत्रकारमाथि धरपकड गरेको खुलेको छ । नेपाल प्रहरीविरुद्ध भ्रामक र गलत समाचार लेखिएकाले प्रधानमन्त्री कार्यालयले चासो राखेपछि मिडिया हाउसमाथि र पत्रकारमाथि धरपकड गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अबीनारायण काफ्लेले प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धान लगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने भएकाले प्रधानमन्त्री कार्यालयको चासोले प्रहरीले सञ्चारकर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नुपरेको बताएका छन् । सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्यूरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाइ प्रहरीको कार्यसम्पादन अन्तर्गत सोधपुछ गरेको उनले बताए । 'सत्य र तथ्य सूचनाले सुरक्षित समाजको निर्माण गर्न जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ,’ प्रवक्ता काफ्लेले भने,’ राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध  छ ।' नेपाल प्रहरी विरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा निरन्तर प्रचार भइरहेको उनले बताए । प्रहरीविरुद्ध झूठा सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारण प्रतिको विश्वास,सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धान लगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने काफ्लेको भनाइ छ । त्यसैगरी, तर पत्रकार पक्राउ परेपछि प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दिपा दाहालले पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री र सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको बताएकी थिइन् । पत्रकार पक्राउको विषयमा पूर्वजानकारी समेत प्राप्त नभएको उनले प्रस्ट पारेकी थिइन् । पत्रकार पक्राउको जानकारी भएपछि प्रधामन्त्री शाहले  नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएकी थिइन् । त्यसैगरी,  प्रहरीले शुक्रबार साँझ नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो । यस्तै, नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयमा पनि पुगेको थियो । पत्रिकाको कार्यालयमा पुगेर पत्रकार नवराज मैनालीलाई खोजिरहेको थियो ।  यसैगरी डीएनए खबरका धिरज बस्नेत र मोटिभेटन्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि प्रहरीले पक्राउ गरेको थियो । दियोपोस्टको कार्यालयमा समेत प्रहरी पुगेका थिए। पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि पक्राउ भएका सबै सञ्चारकर्मीहरू रिहा भएका थिए ।