रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

काठमाडौं । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २६ जना सम्पर्कमा आएको अर्थ मन्त्रालयले जनाएको छ । स्थायी र करार/ज्यालादारी गरी कुल २‍६ जना कर्मचारी सम्पर्कमा आएका हुन् । अझै ११ जना स्थायी कर्मचारी र तीनजना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ । बाढीका कारण रसुवाको टिमुरे तथा रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको छ ।  सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे यकिन जानकारी लिन खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे थप विवरण संकलन तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय जारी रहेको बताइएको छ ।

बाढी प्रभावित ४ जिल्लामा टेलिकमको फोन र डेटा निःशुल्क

काठमाडौं । बाढीबाट प्रभावित धादिङ, नुवाकोट, रसुवा र चितवन जिल्लामा उद्धार तथा समन्वयका लागि नेपाल टेलिकमको फोन र डाटा सेवा निःशुल्क गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सञ्चार सम्पर्क सहज होस् भन्ने उद्देश्यले टेलिकमको सेवा निःशुल्क गरिएको हो । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डेटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए । टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ । नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँचवटा गरी सातवटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।  टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ । यससँगै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिने निजी हेलिकप्टरलाई उडानका लागि छुट्टै अनुमति लिनु नपर्ने व्यवस्था पनि मिलाइएको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिन आवश्यक समन्वय र सहजीकरण भइरहेको जनाएको छ ।

उत्तरगया गाउँपालिकाका पाँचै वडामा क्षति, सयौं बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीले उत्तरगया गाउँपालिकाको दुईवटा भवन क्षति र पाँच जना कर्मचारी बेपत्ता भएका छन् ।  गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले गाउँपालिका पूर्ण रुपमा क्षति भएको र पाँच जना कर्मचारी सम्पर्कविहिन भएको जानकारी दिइन् । भूकम्प विस्थापितबाट बनेको गाउँ पूर्ण रुपमा क्षति भएको उनले बताइन् ।  बाढीले बस्ती बगाएको पनि उनले जानकारी दिइन । ‘बिजुली बत्ती गएको र फोन सम्पर्क टुटेको छ । गाउँपालिकाको धेरै मानिस बगाएको छ । सयौं मानिस बेपत्ता भएका छन्,’ उनले भनिन् । यस गाउँपालिकामा पाँच वटा वडा रहेको छ । सबै वडामा क्षति पु‍र्याएको उनले जानकारी दिइन् । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ।