बाढीका कारण यी जलविद्युत आयोजनामा क्षति, बिजुली उत्पादन बन्द

काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित विद्युत् संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी चिलिमे, त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रलगायत संरचनामा क्षति पुगेको छ । विभिन्न वितरण संरचनामा समेत क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । बाढीका कारण जनधनको ठूलो क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ । बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक, प्राधिकरणका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। थप जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत अनुरोध गरिएको छ । विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको भन्दै प्राधिकरणले आपूर्ति सुचारु नहुन्जेल धैर्य गर्न र आधिकारिक सूचनामात्र प्रवाह गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको अप्रत्याशित र आकस्मिक बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरेका हुन् । उनले संघीय सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्दै सबै तहका सरकारसँग समन्वय गरी उद्धार र राहत कार्यमा केन्द्रित हुन अनुरोध गरेका छन् । थापाले विपद् व्यवस्थापनका सरकारी प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै कांग्रेसका सबै तहका समिति, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नेतृत्व तथा कार्यकर्तालाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सार्न, उद्धार तथा राहत कार्यमा तत्काल जुट्न र आवश्यक सहयोग गर्न अपिल गरेका छन् ।

त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गर्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले पृथ्वी राजमार्ग, मुग्लिङ नारायणघाट लगायत बजारका बस्ती खाली गर्न अनुरोध गरेको छ ।  रसुवा भोटेकोसीमा आएको बाढीले हाल धादिङ–गल्छी आसपास पुगेको केही घण्टामा मुग्लिङ पार हुने क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले पृथ्वी राजमार्ग,  मुग्लिङ नारायणघाट राजमार्ग  लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित  सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार जिल्लामा क्षतिको यकिन विवरण आइसकेको छैन । ‘अहिले ठूलो बाढी आएको छ । अन्य क्षतिको बारेमा विस्तृत जानकारी लिन सकिएको छैन, उनले भनिन् । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ।